
- अनन्तराज न्यौपाने
विराटनगरका नास्ता पसलमा २५ देखि ३० रुपैयाँ प्लेट पाइने चनाचिउरालाई हिजोआज ५० देखि ६० पर्न थालेको छ। डेढ वर्षअघि पूर्वको बजारमा चना प्रतिकिलो ९० रुपैयाँ थियो। मूल्य बढेर छ महिनामै चना किलोको एक सय ८० रुपैयाँ पुग्यो।
अहिले चना किलोको दुई सय २० रुपैयाँ पुगेको छ। मूल्यवृद्धि भएकै कारण चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा चनाको आयात गरिएको छैन। चनामा नेपाल आत्मनिर्भर छैन। अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेपछि भारतीय बजारमा पनि चनाको मूल्यले आकाश छोएको छ। नेपाल र भारत दुवै मुलुकमा अस्ट्रेलिया र क्यानाडाबाट चनाको आयात गरिन्छ।
विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७२/७३ मा यस नाकाबाट चनाको आयात १६ करोड ६२ लाख ५१ हजार मूल्यको २० लाख ७७ हजार किलो चनाको आयात गरिएको थियो। चनाबाट एक करोड २० लाख राजस्व सङ्कलन गरिएको थियो।
अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा चनाको आयात अझ बढी थियो। कार्यालयका अनुसार सो आर्थिक वर्षमा १९ करोड आठ लाख मूल्यको ३४ लाख १२ हजार किलो चनाको पैठारी गरिएको थियो। चनाबाट एक करोड ९० लाख राजस्व प्राप्त भएको थियो। अस्ट्रेलिया र क्यानाडाबाट समुद्री मार्ग हुँदै यति ठूलो परिमाणमा भित्रने चनाको पैठारी चालु आर्थिक वर्षको मङसिर मसान्तसम्म भएको छैन।
किन गरिएन आयात?
विराटनगरमा चनाको मुख्य पैठारीकर्ता एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहराले भने, ‘अन्तर्राष्ट्रिय बजारमा चनाको कतिसम्म मूल्यवृद्धि भयो भने नेपालमा रहेको चना बरु सस्तो भयो। नेपालमा सस्तो अनि अस्ट्रेलिया र क्यानाडामा नै महँगो भएपछि चनाको आयात नगरिएको हो।’व्यवसायी बोहराका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रति मेट्रिक टन छ देखि सात सय अमेरिकी डलर पर्ने चनाको मूल्य १२ सय डलर पुगेको थियो। हाल एक हजारदेखि ११ सयसम्म घटबढ भइरहेको छ।
गत वर्ष अन्तर्राष्ट्रिय बजारमा भएको चनाको ठूलो परिमाण पाकिस्तानका व्यवसायीले खरिद गरेका थिए र बचेको चना खाडी मुलुकमा भित्र्याइएको थियो। भारतमा गत वर्षदेखि अहिलेसम्म पनि चनाको माग र मूल्य दुवै उच्च छ। नेपालमा यसको प्रभाव पर्नु स्वाभाविक हो। नेपालमा तत्काल चनाको भण्डार रित्तिइसकेको र पुस लागेपछि व्यवसायीले आयातका लागि प्रतीतपत्र खोलिरहेको उनले जानकारी दिए।