
पोखरा : सहारा क्लबको आयोजनामा हुने १५औं आहा ! रारा गोल्डकपमा विदेशका तीनसहित कूल १२ टीमको सहभिगता हुने भएको छ।
माघ ४ देखि १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, बंगलादेश, भारतका टीम सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले बताए।
जसमा नेपालबाट ए डिभिजन क्लबहरु लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, सिएमजि संकटा क्लब छन्।
यस्तै मोफसलको रमपम झापा–११ फुटबल क्लब, धरान फुटबल क्लब, सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब धनगढी र आयोजक सहारा क्लब पोखरा छन्। यसबाहेक भारतको युनाईटेड सिक्किम फुटबल क्लब, बंगलादेशको फ्राशगञ्ज एससि र अमेरिकाबाट एएनए यूएसए फुटबल टिम रहेका छन्।
पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७३ मा पहिलो पटक अमेरिकामा रहेका नेपालीहरुको क्लब एएनएले समेत सहभागिता जनाउँदैछ।
प्रतियोगितामा सहभागि हुने टिममा नेपालका चर्चीत क्लब मात्र नभई पुर्वपश्चिमदेखि भारत, बंगलादेश हुँदै अमेरीकासम्मको टिमलाई सहभागि गराउँदै यस बर्ष फुटबलप्रेमिहरुलाई थप रौनक प्रदान गर्ने अपेक्षा रहेको अध्यक्ष आचार्यले जनाए।
केहि दिनपछि नै खेल तालिका सार्वजनिक गरिने बताउँदै अध्यक्ष आचार्यले माघ १ गते साईकल सिटी पोखरा र साईकलिङ संघ, कास्कीको विशेष सहयोगमा पोखरा क्षेत्रमा साईकल र्याली आयोजना गरिने बताए।
त्यसैगरी आन्तरिक रुपमा खेल मैदान मर्मत सम्हार तथा रंगरोगन लगायतको तयारी अन्तिम चरणमा पुगेको महासचिव केशवराज बरालले बताए। 'खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं' भन्ने नारासहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन रहेको छ।