
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको र शान्ति प्रक्रिया, संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका रहेको बताएका छन्। प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन असम्भव हुने उनले बताए।
बिहीबार भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट रहेको बताए। ‘२१ औं शताब्दी सूचना र प्रविधिको युग हो। सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन ल्याएको छ, सामाजि जागरण ल्याएको छ। यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने तपाईँहरुको प्रयास प्रशंसनीय छ। नेपाल सरकार त्यसका लागि हातेमालो गर्न तयार छ,’ उनले भने।
भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायतको प्रतिनिधि मण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले देखाएको लचकताको प्रशंसा गरेका थिए।