PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

विमानस्थलको एक्स-रे मेसिनमा काम गर्न पुग्छन् वीर अस्पतालका कर्मचारी



सविन ढकाल

विमानस्थलको एक्स-रे मेसिनमा काम गर्न पुग्छन् वीर अस्पतालका कर्मचारी

काठमाडौं : गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएसँगै अहिले चौतर्फी रुपमा विमानस्थलको सुरक्षासंयन्त्रमाथि प्रश्न उठेको छ। यतिका परिमाणमा तस्करले सुन छिराउँदा पनि विमानस्थल भन्सारका कर्मचारी के हेरेर बसेका थिए? धेरैका मनमा यही प्रश्न उब्जिएको छ।
 
विमानस्थलभित्र रहेका एक्स रे मेसिनले नै पत्ता नलगाउने गरी तस्करले के प्रविधि अपनाउने गरेका छन् त?
 
भन्सार विभागका प्रमुख शिशिर ढुंगाना विमानस्थलमा एक्स रे मेसिनमा खटिने कर्मचारी र प्रविधिको अभाव भएकाले तस्करले सहजै नयाँ प्रविधिको प्रयोग गरेर सुन छिराएको हुन सक्ने बताउँछन्। उनले भने, 'एक्सरे सम्बन्धी तालिमप्राप्त कर्मचारीको अभाव छ, कहिलेकाहीँ त वीर हस्पिटलमा एक्स रेमा काम गर्ने कर्मचारी ल्याएर पनि काम गराउनुपर्ने बाध्यतामा छौं।'
 
विमानस्थलमा एक्स रे सम्बन्धी तालिमप्राप्त १३ कर्मचारी रहेका छन्। उनीहरु दैनिक तीन सिफ्टमा काम गर्छन्। 'कतिपयको बिदा र बिरामी पर्दा कर्मचारीको अभाव खट्किने गरेको छ,' उनले भने, 'पटक पटक लोकसेवाबाट एक्स रे सम्बन्धी कर्मचारी माग गर्दा समेत पाउन मुस्किल भएको छ।'
 
विमानस्थलमा रहेका एक्स रे मेसिन पुराना भएका छन्। होल बडी चेक गर्ने मेसिन समेत छैन। 'तस्करले सुन वा कुनै पदार्थमा कार्बन टेप लगाएर ल्याए मेसिनले डिटेक्ट नै गर्दैन,' ढुंगाना भन्छन्, 'तस्करले नयाँ प्रविधि अपनाउँछन्, हामी पुरानै प्रविधिमा छौँ।'
 
११ करोड ९५ लाख लगानीमा नयाँ एक्स रे मेसिन ल्याउन विमानस्थलले टेन्डर गरिसकेको उनले जानकारी दिए।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell