PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मिस्टर हिमालय चैतमा, पुरुष फिट्नेस फिजिक्स तथा महिला एथ्लेटिक्स फिजिक्स पनि हुने



पहिलोपोस्ट

काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा छैटौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत २५ र २६ गते राजधानीमा हुने भएको छ।

प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव राजन श्रेष्ठले जानकारी गराए।

पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ। त्यसबाट प्रत्येक वजन समूहमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गर्नेछन्। फाइनलमा आ–आफ्नो तौलसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर हिमालय उपाधिका लागि भिडन्त हुनेछ।

मिस्टर हिमालय उपाधि विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। यो पुरस्कार गत संस्करणको भन्दा ५० हजारले बढी हो। पाँचौं संस्करणका विजेता नेपाल व्यायाम मन्दिरका रामहरि खनालले २ लाख २५ हजार नगद पुरस्कार हात पारेका थिए। 

त्यस्तै आ–आफ्नो तौलसमूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितामा पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स विधामा पनि प्रतिस्पर्धा हुनेछ। यो स्पर्धा नेपालमै पहिलोपटक हुन लागेको महासचिव श्रेष्ठले बताए।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुनेछ। एक संस्थाबाट एक वजन समूहमा बढीमा २ खेलाडीले मात्र भाग लिन पाउने प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell