PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

रुस्लान कप क्रिकेट : एपीएफ नेपाली राइनोजसँग पराजित, ह्वाइट हाउसको जितमा मेहवुवको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

रुस्लान कप क्रिकेट : एपीएफ नेपाली राइनोजसँग पराजित, ह्वाइट हाउसको जितमा मेहवुवको अलराउण्ड प्रदर्शन

काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको सशस्त्र प्रहरी बलको एपीएफ दोस्रो रुस्लान कपको पहिलो खेलमै नेपाली राइनोजसँग ५ विकेटले पराजित भएको छ। 

शरद भेषवाकरको अलराउण्ड प्रदर्शनमा राइनोजले पारससहित अधिकाँश राष्ट्रिय टीमका खेलाडी रहेको एपीएफलाई पराजित गरेको हो। जितसँगै नेपाली राइनोज क्वाटरफाइनलमा प्रवेश गरेको छ भने सातौं राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ स्वर्ण जितेको एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै अर्को खेलमा मेहवुव आलमको अलराउण्ड प्रदर्शनको मद्वतमा हिमालयन ह्वाइट हाउस कलेजले पिसी फाइटल-११ लाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ह्वाइट हाउसलाई क्वाटरफाइनलमा पुर्याउन मेहवुवले ब्याटिङमा अर्धशतक बनाए भने ३ विकेट समेत लिए। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा पिसी फाइटर-११ ले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनायो। उसका लागि मेहवुवले ४५ बलमा ५ चौका र ६ छक्काको मद्वतमा सर्बाधिक ५१ रन बनाए।  

यस्तै सुबेन्दु पाण्डेले ३८, प्रनित थापा मगरले ३२ तथा अमरसिंह राउटेलाले २५ रन बनाए। ओपनर हासिम अन्सारी, पुष्प थापा, आकाश थापा खाता नखोली आउट भएका थिए। बलिङर्फ पिसी फाइटर-११ का चन्द्रदेव जोशीले ३ विकेट लिए भने चन्द्र  देव पन्त र अरुण चन्दले समान २ तथा अनिल अर्यालले १ विकेट लिए। 

जवाफमा १७० रनको लक्ष्य पछ्याएको पिसी फाइटर-११ १६ ओभरमा ६२ रनमा अलआउट भयो। पिसी फाइटर-११ का कप्तान नरेश चन्दले २२ तथा अरुण चन्दले १२ रन बनाउनु बाहेक अनंय खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। 

उसलाई कम स्कोरमा अलआउट गर्न ह्वाइट हाउसका मेहवुव आलमले ३, सन्दीप ढुंगाना र हसिम अन्सारीले २/२ विकेट लिए। ४ ओभर बलिङ गरेका मेहुवुवले २ ओभर मेडन राख्दै २ रन मात्र खर्चेर ३ विकेट लिएका हुन्। यस्तै अमरसिंह राउटेलालो १ विकेट हात पारे। पिसी फाइटरका २ खेलाडी रनआउट भए।

ह्वाइट हाउसले अब पहिलो क्वाटरफाइनलमा नेपाल पुलिससँग खेल्नेछ।

त्रिवि मैदानमै भएको दोस्रो खेलमा नेपाली राइनोजले एपीएफले दिएको १२४ रनको लक्ष्य ४ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्‌यो। राइनोजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।

एपीएफका लागि आठौं नम्वरमा ब्याटिङ गरेका भुवन कार्कीले सर्बाधिक ३३ रन बनाए। त्यसबाहेक कप्तान पारस खड्का, ओपनरद्वय सुवास खकुरेल र आसिफ शेखले समान १८ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटा समान ७, बसन्त रेग्मी ३ तथा प्रदिप ऐरी १ रनमा आउट भए। यज्ञमान कुमाल ५ रनमा नटआउट रहे। 

बलिङमा नेपाली राइनोजका शरद भेषवाकरले २ तथा सुशिल कँडेल, पवन सराफ, रिजन ढकाल र रुपेश श्रीवास्तथवले समान १ विकेट लिए।

जवाफमा नेपाली राइनोजले १९.२ ओभरमा लक्ष्य भेट्टायो। नेपाली राइनोजको जितमा सोनु तामाङले नटआउट रहँदै सर्बाधिक ३३ रन बनाए। यस्तै जितेन्द्र ठकुररीले ३१ तथा सन्जय श्रेष्ठले २६ रनको योगदान गरे। शरद भेष्वाकर २० रनमा नटआउट रहे। 

एपीएफका बसन्त रेग्मीले २ तथा पारस खड्का र भुवन कार्कीले १/१ विकेट लिएपनि जिताउन सकेनन्। एपीएफलाई पराजित गरेको नेपाली राइनोजले क्वाटरफाइनलमा न्यु होराइजन क्रिकेट क्लब र कुलेश्र्वर क्रिकेट क्लबको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell