
काठमाडौं : सिन्धुपाल्चोक सिन्धुकोटका २६ बर्षिय गोपीकृष्ण खतिवडालाई जासुस हुने खुब रहर थियो। यसका लागि राष्ट्रिय अनुसन्धान विभागमा काम गर्ने रहर थियो ।
विभागमा भर्ना खुलेको चाल पाएपछि उनले आवेदन फारम भरेर बुझाए । लिखित परिक्षा समेत दिए । तर उनको नाम निस्किएन ।
जासुस बन्ने सपना तुहिदा निरास भए। यहीबीच खतिवडाको भेट भयो विनोदराज घिमिरेसंग । घिमिरेसँग उनले आफ्नो रहर र असफलताको व्यथा बाँडे ।
घिमिरेले उनलाई सपना पुरा गर्न सघाउने भन्दै'आत्तिनु पर्दैन। केही पैसा खर्च गर्ने हो भने म मिलाइदिन सक्छु' भने लगत्तै उनी पैसा खर्चगर्न राजी भए। उनले घिमिरेलाई १ लाख ५० हजार रुपैंया बुझाए ।
पैसा लिएपछि घिमिरे वेपत्ता भए । उनको जासुस बन्ने सपना फेरी तुहियो।
बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली प्रहरीलाई पक्राउ गर्यो । म प्रहरी हुँ जागिर लगाइदिन्छु भन्दै ६ जना युवतीलाई ठगेको आरोपमा पक्राउ परेका अरु कोही थिएन उनै जासुस बन्न खोज्दा ठगिएका खतिवडा नै थिए।
महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार घिमिरेबाट ठगिएपछि उनी आफैं ठगीमा लागेका थिए । प्रहरी हुँ जागिर लगाइदिन्छु भनेपछि सहजै पत्याउने रैछन् भन्दै उनले जागिरको प्रलोभनमा पार्दै युवती ठग्ने गरेको कार्कीले बताए।
प्रहरीका अनुसार उनले २० देखि ५० हजारसम्म ठगी गरेको भन्दै ६ वटा उजुरी आएको छ।
प्रतिकात्मक तस्विर :www.outsidethebeltway.com