
काठमाडौं : राजनीतिक छाताबाहिर बस्दा पटक-पटक पक्राउ खाएपछि गुन्डा नाइके दीपक मनाङ्गे पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन्।
पार्टीले आफ्नो धारणा नबुझेको भन्दै एक दशक अगाडि राप्रपा छाडेर नेपाली कांग्रेस प्रवेश गरेका उनी पछिल्लो समय पार्टीविहीन थिए।
कांग्रेसमा रहँदा उनी नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत भएका थिए। राप्रपामा रहँदा पशुपतिशम्शेर राणाका सहयोगी रहेका उनलाई बिहीबार कमल थापाले दलबलसहित पार्टी प्रवेश गराएका हुन्।
आफ्नै दल बनाएर राजनीति गर्ने प्रयास असफल भएपछि दलविहिन बसेका उनी सहित उनको समुहका ३ सय जनालाई राप्रपा अध्यक्ष थापाले विहीवार नयाँ बजारमा खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराए।
मनाङ्गे सहित ३ सय जना बिहीबार पार्टी प्रवेश गरेको राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
प्रहरी रेकर्ड अनुसार मनाङ्गे ठमेल क्षेत्रलाई आधार बनाएर संगठित गुन्डागर्दीमा सक्रिय थिए। ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायमा अझै उनको दबदबा चल्छ।
गत असारमा महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई व्यापारीलाई धम्काएको र चन्दा आतंक मच्चाएको भन्दै पक्राउ गरी संगठित अपराधमा कारवाही अगाडि बढाएको थियो।
प्रारम्भमा उनी पुर्पक्षका लागी कारागार गएपनि एक महिनामै छुटेका थिए। आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको अभियोगमा उनीविरुद्द विशेष अदालतमा सम्पत्ती शुद्धिकरणको मुद्दासमेत चलिरहेको छ।
उनी अगाडिनै आपराधिक पृष्ठभूमि रहेका अन्य राजनीतिक संरक्षणका लागि विभिन्न पार्टीमा संलग्न भइसकेका छन्।
कुनै समय मनाङगेका चेला रहेका गणेश लामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य नै छन्। लामा पनि मनाङेसँगै सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका छन्।
एमालेको युवा संघ नेपालमार्फत राजनीतिमा सक्रिय पर्शुराम बस्नेतको पृष्ठभूमि पनि राजनीतिक भन्दा आपराधिक नै बलियो छ।
एमालेबाट राजनीति गर्न इच्छुक चक्रे मिलनले एमालेलाई सघाइरहे पनि औपचारिक रुपमा एमाले प्रवेश गरेका छैनन्।
प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी एमाले धादिङका नेता नै थिए। कुमार श्रेष्ठ घैंटे कांग्रेस निकट थिए।
तस्विर स्रोत :रमेश