
काठमाडौं : न्यु डायमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा अग्रता कायमै राखेको छ।
बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा बिहिबार सम्पन्न खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अग्रता बनाएको हो। आफ्नो छैटौं खेलमा पनि अपराजित रहँदै न्यु डायमन्डले आर्मीलाई २५–६, २५–४ र २५–१५ कोे सेटमा पराजित गर्दै १८ अंक जोड्न सफल भएको छ।
बिहीबार नै सम्पन्न अन्य खेलमा नेपाल पुलिस क्लब र भारतीय खेलाडीहरुको बाहुल्यता रहेको रिड मोडल कलेजले पनि सफलता हात पारेका छन्। ४ खेलसम्म अपराजित रहेको एपीएफलाई भारतका प्रभावशाली खेलाडी सम्मिलित स्वयम्भू ठूलो भर्याङको रिड मोडल कलेजले ३–१ को सेटमा हरायो। प्रतिस्पर्धात्मक खेलमा रिड मोडल २५–१८, २२–२५, २५–२२ र २७–२५ ले विजयी भयो।
त्यसैगरी नेपाल पुलिसले विजेश्वरी ज्ञान मन्दिर स्कुललाई २५–६, २५–४ र २५–७ को सोझो सेटमा पराजित ग¥यो। यो जितसँगै ७ खेलबाट १५ अंक जोडेको पुलिस लिगको दोस्रो स्थानमा उक्लेको छ।
प्रतियोगितामा अहिलेसम्म ५ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लब चार खेलमा जित र एकमा हारसँगै १२ अंक जोड्दै लिगको तेस्रो स्थानमा झरेको छ। चौथो स्थानमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ४ खेलबाट ९ अंक जोड्न सफल भएको छ भने नेपाल आर्मीले ५ खेलबाट ९ अंक नै जोडेको छ।
आयोजक ढोरपाटन स्पोर्टस् क्लबले ६ खेलबाट ८ अंक जोडेको छ भने रामेछापको चन्डेश्वरी युवा क्लवले ७ खेलबाट ७ अंक जोडेको छ। बिजेश्वरी
ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लबले अंकको खाता खोल्न सकेका छैनन्। बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लबबीच शुक्रबार बिहान हुने खेलमा विजयी हुने टोलीले पहिलो अंक हासिल गर्नेछन्। दुवै टोली पहिलो लिगबाटै बाहिरिने निश्चित भएको छ।
त्यसैगरी बिहीबार भएको पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सेटमा पराजित गरेको छ। पश्चिमाञ्चलले चन्डेश्वरीलाई २५–१३, २५–१२ र २५–१५ ले पराजित गर्यो भने दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–१३ र २५–६ को सेटमा पराजित गरेको छ ।