PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

​रियल मड्रिडको नयाँ कीर्तिमान, ४० खेलसम्म अपराजित



पहिलोपोस्ट

​रियल मड्रिडको नयाँ कीर्तिमान, ४० खेलसम्म अपराजित

रियल मड्रिड स्पानिस फुटबलको अपराजित यात्राको नयाँ कीर्तिमान बनाउँदै कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा सेभियासँग ३-३ गोलको बराबरी खेलेको रियल समग्रमा ६-३ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो।

यसक्रममा रियलले ४० खेलसम्म अपराजित हुने नयाँ कीर्तिमान कायम गरेको छ। जिनेदिन जिदानको रियलले गत वर्ष लुइस एनरिकेको नेतृत्वमा बार्सिलोनाले बनाएको ३९ खेलको अपराजित यात्रा तोडेको हो।

करिम बेन्जामाले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि रियल पराजयबाट जोगिएको थियो। दुई पटक पछि परेको अवस्थामा रियलले उत्कृष्ट कमब्याक गरेको हो। फिफा बेस्ट अवार्ड जितेका क्रिस्टियानो रोनाल्डोबिनै मैदान रियल मैदान उत्रेको थियो। ३-१ ले पछि परेको अवस्थामा रियलले अन्तिम १० मिनेट भित्र २ गोल फर्काएको हो।

यसअघि दसौं मिनेटमै रियलका डानिलोले आत्मघाती गोल गरेपछि सेभियाले पहिले अग्रता बनाएको थियो। ४८ औं मिनेटमा मार्को एसेन्सियाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। 

स्टेभान जोभेटिकले ५४ औ तथा भिसेन्ट आइबोराले ७७ औं मिनेटमा गोल गर्दै सेभियालाई ३-१ को अग्रता दिलाएका थिए। तर सेभियाले त्यसलाई कायम राख्न सकेन। ८३ औं मिनेटमा कप्तान सर्गियो रामोसले गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याए। निर्धारित समयमा सेभिया जित नजिक पुगे पनि इन्जुरी टाइममा केनजामाले गोल गरेपछि रियल बराबरी खेल्दै कीर्तिमान बनाउन सफल भयो।

कोपा डेल रे कै अन्तिम १६ को अन्य खेलमा विजयी हुँदै आइबर र सेल्टाभिगो पनि अन्तिम आठमा पुगेका छन्। दोस्रो लेगमा २-१ ले विजयी भएको सेल्टा भिगोले समग्रमा भ्यालेन्सियालाई ६-२ ले पराजित गर्‍यो। यता ओसासुनासँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिए पनि आइबरले समग्रमा ३-० को जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell