
चितवन : जंगली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएका बालकको शव स्थानीयले उठाउन दिएका छैनन्।
प्रशासनले दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता नजनाएसम्म शवको पोस्टमार्टम नगर्ने आफन्तहरुको भनाइ छ। विगत तीन महिनायता पटकपटक जंगली हात्ती बस्तीमा पसी आतंक मच्चाए पनि प्रशासन भने मौन रहेको स्थानीय छवि गौतमले बताए। चितवन आरक्ष र प्रशासनले स्थानीयको धनजनको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने स्थानीयको माग छ।
माडी नगरपालिका–११ खरकट्टामा आज बिहान हात्तीको आक्रमणबाट पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागरको मृत्यु भएको थियो।
बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ। यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो।