PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मंगलहिटीमा पानी सुकेपछि पाटन मन्दिरको पूजाआजा प्रभावित, विज्ञ भन्छन्- 'यसको असर कात्तिक नाचमा'



अमर बडुवाल

मंगलहिटीमा पानी सुकेपछि पाटन मन्दिरको पूजाआजा प्रभावित, विज्ञ भन्छन्- 'यसको असर कात्तिक नाचमा'

काठमाडौं : लिच्छविकालीन समय हिटी ५७० मा निर्माण गरिएका पाटन मन्दिरका ढुङ्गेधारामा दुई महिनादेखि पानी आउन छोडेको छ।
 
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका ढुङ्गेधाराबाट पानी आउन छोडेपछि पाटन मन्दिरको पूजाआजामा पनि प्रभाव परेको छ। पाटन मन्दिरमा पूजा गर्दा मंगलहिटीकै पानी चाहिन्छ।
 
पहिलेपहिले मंगलहिटी भन्ने गरिएकोमा अहिले मंगल धारा पनि भन्ने गरिन्छ। नेपाल भाषामा हिटी भनेको धारा हो। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटनका प्रमुख काजी प्याकुरेल भन्छन्, 'छैटौं शताब्दीका ती ढुंगेधारामा माटोको पाइपलाइनबाटै भूमिगत पानी आउने गरेको थियो। अहिलेको सहरीकरण र आधुनिकीकरणका कारण पाइपलाइनको टुटेपछि पानी आउनै छाड्यो।'
 
स्थानीयवासी भने पानीको मुहान भएको ठाउँमा बोरिङ गरेर पानी तान्न थालेकाले मंगलहिटीको पानी सुकेको बताउँछन्। ललितपुरका पुरातात्विक सम्पदा संरक्षणको जिम्मा पाएको ललितपुर उपमहानगरपालिकाले धारामा पानी फर्काउन एक समिति पनि बनाएको थियो। तर समितिले के कति काम गर्‍यो भन्ने बारेमा जानकारी नभएको प्रमुख प्याकुरेलले बताए।
 
ललितपुर उपमहानगरपालिका अन्तर्गत सम्पदा संरक्षण विभाग प्रमुख चन्द्रशोभा शाक्यले भने नगरपालिका अहिले नगर परिषद्को तयारीमा रहेकाले पानी फर्काउने गृहकार्य गर्न समय नमिलेको बताइन्। मंगल टोल सुधार समितिसँग छलफल गरेर केही समयमा अनुसन्धान गर्ने उनको भनाइ छ।
 
नेपालमा रहेका अधिकांश ढुङ्गेधारामा अहिले पानी आउन छोडेका छन्। '४/५ वर्ष अघिसम्म पनि धेरै ढुङ्गेधारामा पानी आइरहेको थियो, अहिले भने एक दुई वटाबाहेक सबै धारामा पानी सुकेको छ,' प्याकुरेलले भने।
 
त्रिभुवन विश्वविद्यालय नेपाल इतिहाँस, संस्कृति तथा पुरातत्व विभागकी उप-प्राध्यापक डा. सन्ध्या खनालका अनुसार मंगलहिटीमा पानी आउने तीन वटा स्रोत छन्। इला पोखरी, कात्तिक नाच देखाउने डबली र मन्दिर पछाडिको ठाउँ। भूकम्पपछि पनि नियमित पानी आइरहेका ती धारामा अकस्मात् पानी सुक्नुपर्ने खास कारण उनी देख्दिनन्। हिउँदको समयमा सुक्खा लागेका कारण पानी बन्द भएको हुन सक्ने अनुमान मात्रै गर्न सकिने खनालको भनाइ छ।
 
काठमाडौँ उपत्यकाका ढुङ्गेधाराहरु शीर्षकमा अनुसन्धान गरेकी खनालले मंगलहिटीको महत्वबारे भनिन्, 'कात्तिक नाच देखाउँदा एक जनालाई भगवान् विष्णुको अवतार ग्रहण गर्ने गरी तान्त्रिक मुकुट लगाइन्छ। मुकुट लगाइसकेपछि ती व्यक्ति बेहोस हुन्छन्। होसमा ल्याउन मंगलहिटीकै पानी आवश्यक पर्ने गर्छ। उक्त धाराको पानी नहुने हो भने त्यसरी मुकुट लगाउने व्यक्ति होसमा आउँदैनन् र उनको ज्यानै जान सक्छ।' धारामा पानी नफर्काए कात्तिक नाच नै देखाउन नसकिने खनाल बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell