
- अनन्तराज न्यौपाने
चार वर्षअघि झलनाथ खनाल-माधव नेपाल पक्षका तिनै महेश रेग्मीसित २१ मतको झिनो अन्तरले पराजित भएका ढकालले यस वर्ष २०७ मतको फराकिलो अन्तरले उनै रेग्मीलाई पराजित गरेका हुन्। रेग्मीले तीन सय ३४ मत प्राप्त गरेका छन्।
यस पटकको निर्वाचनमा पनि कडा प्रतिस्पर्धा हुने र ढकालले बढीमा ५० मतको अन्तरले विजय हासिल गर्ने लख काट्ने पर्यवेक्षकहरू परिणाम घोषणा सुनेर चित खाएका थिए।
उपाध्यक्षमा ढकाल पक्षका रामलाल शाह ४६९ मत ल्याएर विजयी भए। शाहका प्रतिद्वन्द्वी रेग्मी पक्षका सत्यनारायण चौधरीले ३५७ मत प्राप्त गरे।
त्यस्तै सचिव पदमा ढकाल पक्षकै सांसद ऋषि पोखरेलले ५०७ मत ल्याएर जित हासिल गरे। ऋषिका प्रतिद्वन्द्वी रेग्मी पक्षधर विद्या चाम्लिङले ३३८ मत प्राप्त गरिन्।
उपसचिव पदमा ढकाल समूहकी धना तामाङ ४५८ मत ल्याएर विजयी भइन् भने रेग्मी पक्षका राजकुमार ओझाले ३४६ मत प्राप्त गरे।
चुनावलाई नजिकबाट अध्ययन गर्नेहरू ढकालको विजयलाई स्वाभाविक तर मतान्तरलाई अस्वाभाविक मान्दछन्। उनीहरूका अनुसार रेग्मी समूहमा मौलाएको अन्तर्घातको रोगले नै पराजयको अन्तर यति फराकिलो हुन पुगेको हो।
यस समूहमा विशेषतः सचिव पदको प्रत्यासीका लागि भएको खिचातानी नै अन्तर्घातको कारक हुन पुग्यो। रेग्मी गुटका लागि सचिव पदमा पार्टीका वरिष्ठ नेता माधव नेपालले रूपेश खतिवडाका लागि दबाब दिएका थिए। तर भूगोल, जाति र समावेशिता मिलाउनु पर्ने भन्दै रेग्मी समूहले विद्या चाम्लिङलाई उम्मेदवार बनाएको थियो।
भनिन्छ, चाम्लिङलाई रेग्मीले सचिव पदका लागि रोजेपछि खतिवडाको पक्षधर एउटा ठूलो जमात इरिटेड भएको थियो।
सबैलाई समेट्छु : ढकाल
निर्वाचन परिणामबाट प्रसन्न देखिएका ढकालले आफू गुट र उपगुट प्रथाको अन्त्य गर्ने प्रयासमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई समेटेर पार्टी सञ्चालन गर्ने प्रतिक्रिया व्यक्त गरे।परिणाम स्वीकार्य : रेग्मी
अध्यक्षको निर्वाचनमा उपविजेता बनेका महेश रेग्मीले प्रजातान्त्रिक ढङ्गले भएको निर्वाचनको परिणाम अप्रत्याशित र व्याख्या गर्न नसकिने भए पनि आफूलाई स्वीकार्य रहेको बताए।‘एउटा चुनाव हारेर राजनीति सकिँदैन बरु सुरु हुन्छ’, रेग्मीले भने, ‘मेरो राजनीतिक जीवन अब नयाँ धार र सिराबाट सुरु हुन्छ, मलाई मतदान गर्नेलाई धन्यवाद दिन्छु।’
खुल्लातर्फ ककसले जिते?
निर्वाचन परिणामअनुसार खुल्लातर्फ विजयी हुने जिल्ला सदस्यमा पर्शुराम बस्नेत, धर्मानन्द सञ्जेल, पारुल क्षेत्री, बाबुराम कार्की, सांसद चण्डीप्रसाद रार्इृ, अजम्बर राई, ताराबहादुर काफ्ले, सन्तोष बान्तवा र रूपेश खतिवडा छन्। चर्चित युवा नेता ओसिम आलम मुस्लिम कोटाबाट विजयी भए।हार्ने हस्तीहरू
निर्वाचनमा खुल्लातर्फ विराटनगरका नगर इन्चार्ज सागर थापा, रबिन नगरकोटी, तुलसी पोखरेल, भूपालसिंह जिमी, मानबहादुर श्रेष्ठ लगायत छन्।त्यस्तै महिला खुल्लामा चर्चित नेतृ विमला घिमिरे, महिला महिलामा सञ्जु शाह, लेखा परीक्षण कमिटीका अध्यक्षमा डाक्टर उद्धव पोखरेल र जिल्ला निर्वाचन कमिटीको उपाध्यक्षमा डिल्ली पोखरेल पराजित भए। पराजित पोखरेलद्वय दाजुभाइ हुन्।