PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​नेपाल पुलिस रुस्लान कप क्रिकेटको सेमिफाइनलमा, सुनिल धमलाको लगातार दोस्रो अर्धशतक

​नेपाल पुलिस रुस्लान कप क्रिकेटको सेमिफाइनलमा, सुनिल धमलाको लगातार दोस्रो अर्धशतक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल पुलिस क्लब दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाने छ। बलरहरुको उत्कृष्ट प्रदर्शन तथा ओपनर सुनिल धमलाको अर्धशतक मद्वतमा पुलिसले हिमालयन ह्वाइट हाउसलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

पुलिसको जितमा सुनिलले नटआउट ६० रन बनाए भने बलिङमा १ विकेट समेत लिएका थिए। सुनिलको जारी प्रतियोगिताका यो लगातार दोस्रो अर्धशतक समेत हो। पहिलो खेलमा उनले हिमालयन क्रिकेट एकेडेमी विरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ९८ रन मात्र बनाउन सक्यो। पुलिसका बलरहरुको धारिलो बलिङ सामु ह्वाइट हाउसका कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्। उसका कप्तान हसिम अन्सारी ३३, प्रनित थापा मगर २३ तथा अमरसिंह राउटेलालो नटआउट १८ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन्। बलिङतर्फ पुलिसका ललित भण्डारी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए भने सुनिल धमला, ललित राजवंशी र कप्तान मन्जित श्रेष्ठले समान १ विकेट लिए। 

जवाफमा ९९ रनको सामान्य लक्ष्य पुलिसले १३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‌यो। पुलिसका लागि सुनिल धमलाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्वतमा ६० रन बनाए। आरिफ शेखले २१ बलमा ५ चौकाको मद्वतमा २७ रनको योगदान गरे। ओपनर दिलिप नाथ ९ रन बनाएर रनआउट भए। दीपेन्द्र सिंह ऐरी १ रनमा नटआउट रहे। 

पहिलो संस्करणको विजेता समेत रहेको पुलिसले अब सेमिफाइनलमा नेपाली राइनोज र न्यु होराइनज क्रिकेट क्लब/कुलेश्वर क्रिकेट क्लब को विजेतासँग खेल्नेछ।


ट्रेन्डिङ पोस्ट

Ncell