चार्ली कनिकालाई धोका दिन चाहँदैनथ्यो। कनिकाको निर्दोष अनुहारप्रति ऊ आकर्षित थियो। कनिका पर्सनल्ली चार्लीका लागि कम्प्याटिबल थिइ। तर, उसलाई जस्तो पत्नीको आवश्यकता थियो, त्यो क्राइटेरिया मीट गर्न सक्दैनथी कनिका। ऊ सम्पन्न परिवारमा जन्मेकी। बाबु–आमाको लाड प्यारमा हुर्केकी। उसलाई संसारका दुःखका बारेमा थाहा थिएन। उसबाट घर गृहस्थी चल्न गाह्रो थियो। चुलो–चौकोको कुरामा उसले चिया पकाउनसम्म पनि जानेकी थिइन। त्यो घरमा गृहिणीको रुपमा कनिकाको गुजारा कठिन थियो। चार्ली आफूलाई पत्नी र आमालाई बुहारीको खोजीमा थियो। आफ्नो औकातसँग ठिक्क मिल्ने केटी। कनिका यस्ती थिइन। ऊ आधुनिक थिइ। त्यसमा पनि कनिकाका बाबा घरबाट छोरी अन्माउन चाहँदैनथे। ज्वाईं अन्माएर घरमा ल्याउन चाहन्थे। उनी यस्तो मानिसको खोजीमा थिए जो सज्जन पनि होस् र सहाराको खोजीमा पनि होस्। उनकै घरमा बस्न आओस्। घर ज्वाईं।
यो हिसाबले चार्लीको पनि कनिकासँग बिहे गर्ने क्राइटेरिया पुग्दैनथ्यो। उसको आर्थिक अवस्था कनिकाको बाबाको जस्तो पक्कै थिएन। तर, घर ज्वाईं नै बस्नुपर्ने हिसाबले गए गुज्रेको पनि थिएन। उनीहरु खानदानी र आफनो र परिवारको इज्जतप्रति निकै कन्सस थिए। चार्लीको परिवार धार्मिक प्रवृत्तिको थियो। उसको बाबा र आमा पूजा–पाठ र धर्म–कर्ममा निकै डुव्थे। बाबाको निधनपछि आमाको धार्मिक भावना अझै बढेको छ। वरपरका छरछिमेकीहरु पनि त्यस्तै छन्। यो स्थितिमा कनिकासँग चार्लीको बिहेको त कुरै थिएन। चार्लीलाई आफनी बूढी आमालाई साथ दिनसक्ने पत्नी चाहिएको थियो। घरको नियमित काम नोकर–चाकरले गरे पनि आमाका धार्मिक र अन्य कामहरुमा सहयोगी हुनसक्ने केटी।
कान्तिपुर शहरमा दुई वर्ग स्पष्ट देखिन्छ धनी र गरीबको। त्यसो त देखिने सिष्टम जहाँ पनि त्यही हो। तर कान्तिपुरमा फरक छ। यो शहरमा गरिबीका पनि सीमारेखाहरु छन्। यसका सिष्टम छन्। सडक छेउमा घर भएका थुप्रै मानिस गरीब छन्। उनीहरु आफू बुईंगलमा बसेर घर भाडामा लगाउँछन्। अहिले अरुसँगको तुलनामा गरीब छन्। तर, जुन बेला घर–जग्गा बेच्दछन तत्काल करोडपति भै हाल्छन्। यो वर्गको मानिसलाई धनी भन्नु कि गरीब। असमानताको दुःख त सवैले भोग्नै पर्छ। तर, कान्तिपुर शहरको भित्री भागमा यो समस्या बढी छ। कतिपय मानिसका लागि शहरमा घर हुनु अभिशाप बनेको छ। घर शहरको बीचमा छ।
तर, घरमा सम्पत्तिका नाममा कलात्मक चित्र कुँदिएका झ्यालका चौकोस, टुँडाल, ढोकाका खापा र भरेङ बाहेक केही छैन। सानो जागीर थियो सुव्वा, खरदारको। पेन्सन पाकेपछि छोड्न परी हाल्यो। घरमा पसल भाडामा दिने कोठामा छोराले के के काम गरेर बसेको छ। पैसा कमाउँछु भन्छ अहिलेसम्म सुको कमाएको छैन। यस्तोमा सम्पत्तिको परिभाषा के हुन सक्दछ?
कनिकालाई ‘धरातलीय यथार्थ’ बताएर चार्ली प्रेमको संसारबाट अलग हुन चाहन्छ। तर, तीन–चार दिनदेखि कनिकासँग उसको सम्पर्क नै भएको छैन। ऊ सहमतिमा नै कनिकासँग विदा लिन चाहन्छ। तर, ठाडै कुरा गर्ने साहस नै गर्न सकेको छैन उसले। ऊ कनिकालाई फोन गर्दछ र उताबाट हेलो भन्नासाथ काट्छ। आज पनि त्यस्तै गरेको थियो। चार–पाँच कल डिस्कनेक्ट गरेपछि उसले के सोच्यो अन्तिम कल कनेक्ट नै राख्दै बोल्यो, ‘कनि, आइ वाण्ट टू मीट यू बेबी, इट्स समथिंग इम्पोर्टेन्ट।’ कनिका खुशी भइ। तर, कृत्रिम क्रोध देखाउँदै भनी, ‘के हुनसक्छ त्यस्तो इम्पोर्टेण्ट?’
साँझ उनीहरु दरबारमार्गमा नयाँ खुलेको रेष्टुराँमा छिरे। टेबलमा एडजस्ट भै सकेपछि कनिकाले एव्सुलेट पीच अन दि रक अर्डर गरी। चार्ली कोन्याकमा लाग्यो। उसलाई जाडो लागिरहेको थियो। सोच्यो, नीट कोन्याकले उसको जिउ चाँडो तताउँछ। केही बेर तातेपछि कनिकाले भनी, ‘तिमी त मसँग एकदमै टाढा हुन खोजिरहेका छौ । किन हो चार्ली?’
कनिकाको प्रश्नले चार्लीलाई खुशी बनायो। किनभने, उसको प्रश्नमा पहिलेको जस्तो प्रेमको इन्टेन्सिटी थिएन। उसको हाउभाउमा पनि पहिलेको जस्तो चार्लीप्रतिको समर्पण भाव थिएन। चार्लीले आफनै तरीकाले जवाफ दियो, आफ्नै समस्यामा उभिएर। पत्रकारितामा सक्रिय रहेकी कनिकाले बुझी सकेकी थिइ उसको मनस्थिति। उसले आफ्नै अन्तरमनलाई खोतलेर हेरी, ‘कतै केही बाँकी छ कि?’ त्यस्तो केही थिएन। उसले भनी, ‘हाम्रो कुरा अनुसार म तिमीलाई पर्खी रहेकी थिएँ । बीचमा सुदिप्तीले मलाई रिपोर्टरको अफर दिइ। अहिले म यसैमा रमाएको छु। मलाई थाह छ, तिमी समस्यामा छौ। तिमीले बिहे नगरी नहुने भएको छ। म अहिले नै बिहे गर्न तयार छैन। हामी अण्डरस्टाण्डिङमा पुगौं र बितेका कुरालाई बिर्सौ ।’
कनिकाको आँखामा भरिएको आँसु तपकिएर टेवलमा खसिरहेको थियो। चार्लीको मनमा पनि तूफान थियो। यत्ति मात्रै कि उसले भन्नपर्ने कुरा कनिकाले आफै भनेकी थिइ। ऊ अप्ठेरो परिस्थितिबाट जोगिएको थियो।
जाडोको कान्तिपुर। साँझ आठै बजे चकमन्न भइसकेको थियो। सडक–पेटीमा उभिएका एकजोडी वियोगको अन्तिम खुड्किलोमा थिए।