उर्लाबारी (मोरङ) : मोरङको मधुमल्लास्थित नुनसरी बक्राहा खोला नियन्त्रणका लागि स्थानीयवासी स्रोत जुटाएर आफैँ काममा जुटेका छन्।
खोलाले बाँध फुटाएर गाउँमा पसेपछि सरकारले खोला नियन्त्रणको आश्वासन दिए पनि काम तदारुकता नदेखाएकाले स्थानीयवासी आफै नियन्त्रणमा जुटेका हुन्। गत असार मा बक्राहा खोलाले बाँध फुटाएर गाउँ पस्दा मधुमल्लाका ४, ५ ,६, ७ र ८ वडाका सयौँ घरपरिवार घरबारविहीन हुनुका साथै दुईजनाको मृत्युसमेत भएको थियो।
खोलाले मधुमल्ला – ५ को चार ठाउँमा करिब एक किलोमिटर बाँध फुटाएको र हालसम्म पनि सो बाँध मर्मत हुननसक्दा स्थानीयवासी फेरी बर्खामा खोला गाउँ पस्ने त्रासमा छन्।
बाढीले स्थानीयवासीको तीन सय बिगाहा जमिन बगरमा परिणत गराएकाले घरबार बिहिन ३० घरपरिवार त्रिपाल टाँगेर बगरमै बस्दै आएका छन्।
स्थानीय समाजसेवी तथा स्थानीय राजनीतिक दलको संयन्त्रबाट नुनसरी, रचना, साखरे बाढिपीडित दैवीप्रकोप न्यूनीकरण उद्धार मूलसमिति गठन गरेर नै खोला नियन्त्रण गर्न सुरु गरिएको हो।
समितिले खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्ने ट्याक्टरबाट दुईदेखि तीन सय रुपैँयासम्म सहयोग रकम उठाएर खोला नियन्त्रणको काम सुरु गरेको छ। गत असोज १ गतेबाट हालसम्म ट्याक्टरबाट उठाइएको सहयोगबाट रु १० लाख जम्मा भइसकेको समितिका अध्यक्ष डिल्लीराम खड्काले जानकारी दिए।
उनका अनुसार यसवर्ष मात्रै समितिको पहलमा मधुमल्ला ४ र ५ को सिमाना सापकोटाडाँडामा दुई सय मिटर बाँध बनाइएको छ। यस्तै मधुमल्ला– ४ को शान्ति टोलमा पनि १५० मिटर बाँध बनाइएको उहाँले बताए। बाँध जीर्ण भएका अन्य ठाउँमा पनि मर्मत गर्ने काम भइरहेको स्थानीय जङ्ग खत्रीले बताए।