PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

दिनभर मजदुर देखाउने, रातभर डोजर लगाउने : कालीगण्डकीमा हटेन अवैध गिटीबालुवा उत्खनन



रासस

फलेवास (पर्वत) : कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ।
 
प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन। दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ।
 
पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै सञ्चालनमा रहेका क्रसर उद्योगले मध्यरातमा उत्खनन गर्न थालेका हुन्। वर्षायाममा रोकिएको उत्खनन कार्य नदीमा पानीको बहाव रोकिएलगत्तै पुनः सुरु भएको छ।
 
जिल्ला विकास समितिले दिएको मापदण्डविपरीत नै हुने गरी कालीगण्डकीको बहाव परिवर्तन गरेर दैनिकजसो बालुवा, ढुङ्गा र गिटी उत्खनन गर्न थालेपछि स्थानीयवासीसमेत समस्यामा परेका छन्। जिविसले चालू आवका लागि कुल रु ७५ लाख २० हजारमा ठेक्का सम्झौता गरेको थियो।
 
दिनमा प्रहरी प्रशासनको आँखा छल्नका लागि मजदुरमार्फत खनिएको जस्तो देखाए पनि मध्यरातमा डोजर र एक्साभेटर लगाएर दोहन भइरहेको स्थानीयवासीले बताएका छन्। गत वर्ष पनि यसरी नै दोहन भए पनि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि रोकिएको थियो।
 
जिविससँग ठेक्का सम्झौता भए पनि सम्झौताविपरीत उत्खनन गरेको पाइएको स्वयम् जिविसले नै स्वीकार गरेको छ। स्थानीयवासीले रातिको समयमा उत्खनन गर्दा आसपासमा बसोबास गर्न समस्या भएको र सोही कारण वर्षायाममा पनि झन जोखिम बढ्ने भएकाले तत्काल नियन्त्रण गर्न माग गरेका छन्।
 
क्षेत्रीय प्रशासक खगराज बरालले केही समयअघि रातिमा कालीगण्डकी दोहन गरेको गुनासो आएपछि स्थानीय प्रशासनलाई तत्काल रोक्न निर्देशन दिएको बताए।
 
प्रजिअ शम्भुप्रसाद मरासिनीले जिविस, प्रहरी र प्रशासनको टोलीले अनुगमन गरेको र जिविससँग भएको सम्झौताविपरीतका कार्य भएको पाइएमा आवश्यक कारबाही गर्न भनी जिविसलाई निर्देशन दिएको बताए।
 
रातभरि डोजर लगाएर उत्खनन गर्ने, दिउँसो केही मजदुर लगाएर थुप्रो बनाएजस्तो गर्ने र पुनः रात परेपछि डोजर र ट्रिपरको सहायताले उत्खनन गर्ने कार्य भइरहेको स्थानीयवासी रेशम मल्लले जानकारी दिए।
 
क्रसर व्यवसायी रामकृष्ण मल्लले जिविससँग सम्झौता भएबमोजिम नै ढुङ्गा, बालुवा, गिटी निकालेको दाबी गरे। जसले ठेक्का लिएका छन्, उसैले आफ्नै क्रसर उद्योगसमेत सञ्चालन गरेर विगत केही वर्षदेखि दोहनको शृङ्खला सञ्चालन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell