धनुषा : छनोट गरी पेस गरेका योजना नसमेटेको भन्दै स्थानीयवासीले नगरपरिषद्का लागि तयार पारिएको मञ्च भत्काइदिएपछि धनुषा क्षीरेश्वरनाथ नगरपालिकाको नगरपरिषद् स्थगित भएको छ ।
वडास्तरबाट छनोट गरी पेस गरेका योजनालाई कटौती गरी अन्य योजना समावेश गरेर परिषद्बाट पारित गराउन खोजिएको भन्दै वडा नागरिक मञ्चका पदाधिकारीले मञ्चनै भत्काइदिएका थिए।
वडा नं. ६ र ७ का बासिन्दाले विरोध गर्दै परिषद्का लागि तयार गरिएको मञ्च भत्काएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। चालु आर्थिक वर्ष २०७३\७४ का लागि स्वीकृत भइसकेको योजना हटाएकाले अवरोध गर्नु परेको नागरिक वडा मञ्च– ७ का संयोजक सुमित्रादेवी मण्डलले बताइन्।
नगरपालिकाका कार्यकारी अधिकृत त्रिलोचन नेउपानेले वडा नागरिक मञ्चबाट पेस भएको योजनामध्ये एकीकृत योजना तर्जुमा समितिले प्राथमिकिरण गरेका योजनालाई आउने आर्थिक वर्षका लागि परिषद्मा पेस गरिएको बताए।
चालु आवको योजना कटौती गरिएको स्वीकार गर्दै उनले नगरक्षेत्र पूर्वाधार कार्यक्रम कार्यन्वयनका लागि राजनीतिक दलको सहमतिमा प्राप्त बजेट एक करोड ४२ लाख रकममा नगरपालिकाले पनि त्यति नै बराबरको रकम थप्नुपर्ने भएकाले सबै वडाको केही योजना कटाएर बजेटमा हाल्ने दलीय सहमतिपछि यस्तो गर्नुपरेको उनले दावी गरे।
स्थानीयको अवरोधपछि विवाद समाधान गर्न स्थानीय इलाका प्रहरी कार्यालयको पहलमा बसेको सर्वदलीय बैठक बसेको थियो। प्रत्येक वडामा गठन भएको वडामञ्चको संयोजक तथा प्रतिनिधिसहितको बैठकले नगरपालिकाभित्र पेस भएका योजनाउपर छलफल गरी बजेट विनियोजन गरेर नगरपरिषद्मा पेस गरेर मात्र नगरपरिषद्को बैठक बस्ने सहमती भएको छ । रासस