फलेवास (पर्वत) : मकर संक्रान्ति मनाउनेहरुका कारण बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको छ। कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पूर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानैदेखि भीड लागेको हो। मोदीवेणीमा विहानैदेखि भजनकृतन पनि सुरु भएको छ।
बिहानै कालीगण्डकीमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनिहरु स्नान गर्न आएका हुन्। नजिकका भक्तजनहरु बिहानै कालीगण्डकीमा पुगेका छन् भने टाढाटाढाबाट आउनुपर्नेहरु भने शुक्रबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायत बजार क्षेत्रमा बसोवास गरी बिहानै स्नान गर्न पुगेका हुन्।
माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन पनि रहेको छ।
सेतीवेणीमा विशेष मेला
यसैबीच पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ। तीन जिल्ला र तीन अञ्चलको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशवाट भक्तजनको भीड लागेको स्थानीयले बताएका छन्।
कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयात्रामार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ। अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गरेको स्थानीय अशोकसिंह पाण्डेले बताए।