PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पत्याउनुहुन्छ? सुदूरपश्चिममा आजै धुमधामसँग काग तिहार मनाइँदैछ



पहिलोपोस्ट

पत्याउनुहुन्छ? सुदूरपश्चिममा आजै धुमधामसँग काग तिहार मनाइँदैछ

  • विनोदसिंह विष्ट
बैतडी : अरुतिर मकर संक्रान्ति मनाइरहँदा सुदूरपश्चिममा भने आज काग तिहार मनाइँदैछ। यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ।
 
स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ  ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना गर्नु हो। महिनाको सुरुआत भएकाले माघे सङ्क्रान्तिलाई नरहरि भनिएको बताइएको छ।
 
सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ। हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ। उक्त खानेकुरा माघे सङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ।
 
धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्छन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पं जयानन्द भट्टले बताए।  आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास अहिले पनि छ।
 
आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ। कागले पुस १५ गते तीर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ।
 
काग अत्यन्तै चलाख सर्वभक्षी प्राणी हो। काग तिहारमा कागलाई पुज्नुका विभिन्न महत्व र कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ। अर्कातर्फ यसले अन्नबालीमा लाग्ने किरा–फट्याङ्ग्रा र सबै प्रकारका मांसजन्य फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा मानिन्छ। माघे सङ्क्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ।
 
सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड माघे सङ्क्रान्तिअर्थात् पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिस घर फर्किने गर्छन् भने विवाहित महिला माइत जाने गर्छन्।
 
पुसे तिहारअर्थात् माघे सङ्क्रान्तिलाई आफन्त एवम् इष्टमित्रसँग भेटघाट गर्ने पर्वका रुपमा लिइने गरिएको श्रीकोटका बासिन्दा हेमराज गिरीले बताए। पुस्तौँदेखि मनाइँदै आएको पुसे तिहारको महत्व सुदूरपश्चिममा अझै उत्तिकै रहेको पाइन्छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell