PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काम गर्दागर्दै ठेकेदार गायब : कामदारले पाएनन् पारिश्रमिक, नौ महिनादेखि भवन निर्माण अलपत्र



पहिलोपोस्ट

सोलुखुम्बु : ठेकेदारको बेवास्ताका कारण सोलुखुम्बुको स्वास्थ्य र वन कार्यालयको भवन निर्माण कार्य नौ महिनादेखि अलपत्र परेको छ।
 
जिल्ला स्वास्थ्य कार्यलयको फाप्लुमा निर्माण हुँदै गरेको भवन र जिल्ला वन कार्यलयको भवन गत वैशाख महिनादेखि नै निर्माण कार्य रोकिएको हो। निलगिरि निर्माण सेवा प्रालिले ठेक्कामा लिएको भवन आगामी महिना हस्तान्तरण गरिनुपर्ने भए पनि दुवै भवन आधा निर्माण गरी अलपत्र छाडिएको छ।
 
सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको बजेटमा निर्माण भइरहेको ती भवनको ठेकेदारका बारेमा सहरी विकास कार्यालयलाईसमेत जानकारी छैन। वैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको ठेक्केदार कम्पनीका मानिस अहिलेसम्म सम्पर्कमा नआएको सहरी विकास तथा भवन निर्माण कार्यलयका प्रमुख सुवास बस्नेतले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयको भवन रु दुई करोड ३८ लाखमा ठेक्का सम्झौता भएको हो भने जिल्ला वन कार्यलयको भवन रु एक करोड २९ लाखमा सम्झौता भएको थियो। दुवै भवनको आधा काम मात्रै सकिएको छ। दुवै कार्यालयको भवन निर्माण अवधि दुई वर्ष तोकिएको थियो।
 
ठेक्केदार बेपत्ता भएपछि स्थलगत रुपमा खटिने कामदारले समेत पारिश्रमिक पाएका छैनन्। सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख बस्नेतले भने ठेकेदार बेपत्ता भएपछि खोजीका लागि ठेक्का कम्पनीले कारोबार गर्ने नेपाल बङ्गलादेश बैंकमा खाता रोक्का गर्न निवेदनसमेत पठाइसकेको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell