काठमाडौँ : न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ।
एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ। न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ। अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो।
विन्टर सिजनकै क्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए। सामान्यतः मङ्सिर, पुस र माघलाई विन्टर सिजन मानिन्छ।
न्यूनतम तापक्रम घट्ने भएकाले अझै केहीदिन चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए। उनका अनुसार पश्चिमी वायुको असरका कारण आज साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एकदुई स्थानमा हल्का बर्सात हुने सम्भावना छ। अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट बर्सात हुनेछ। तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन। पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ।रासस