काँकडभिट्टा (झापा) : सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने निर्णय गरेको रु दुई लाखमध्ये जनआन्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ।
जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलाबारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो।
२०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते काठमाडौँको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएका बेला छातीमा गोली लागेर प्रधान घाइते भएका थिए। छातीमा गोलीको दाग बोकिरहेका उनको अहिले पनि घाउबाट पिप बगिरहने गर्छ। प्रधानलाई २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्को निर्णयअनुसार दुई लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय भएको थियो।
सो सहयोगमध्ये एक लाख रुपैयाँ झापा जिल्ला प्रशासन कार्यालय मार्फत गत वर्षको माघमा पाएका उनले अरु एक लाख रकम कहाँ कसले गायब गर्यो भन्ने पत्ता लगाउनै नसकेको बताए।
‘प्रशासन कार्यालय र गृहमन्त्रालयमा धेरै पटक धाएँ’, प्रधानले भने, 'अनेक आलेटाले कुरा गरेर मलाई रकम दिएनन्।' २०७२ माघ ३ गते गृह मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई एक लाख रुपैयाँको चेकसहित सो रकम झापाका जनान्दोलनका घाइते दिलीप प्रधानलाई उपलब्ध गराई भपाई पठाइदिनु भनी निर्देशन समेत दिएको थियो।
च.नं. २२२७६३१ को सो पत्रमा पठाइएको एक लाखको चेक उपचार आर्थिक सहयोगबापत प्रधानले पाउने रकमको पेस्की रहेको प्रस्ट उल्लेख छ। तर, त्यसपछि हालसम्म बाँकी एक लाखको अत्तोपत्तो छैन।रासस