PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन, अनिल गुरुङ बेस्ट प्लेयर



पहिलोपोस्ट

मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन, अनिल गुरुङ बेस्ट प्लेयर

धनगढी : मनाङ मर्स्याङदी क्लबले धनगढीमा भएको प्रथम सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा सिएमजी संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदीले सिजनको पहिलो नकआउट उपाधि जितेको हो। 

मनाङलाई उपाधि जिताउन कप्तान अनिल गुरुङले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो। हेटौंडा गोल्डकपको फाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो।

संकटाले ८२ औं  मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गर्ने मौका पाएको थियो। तर विश्व अधिकारीले प्रहार गरेको पेनाल्टी पोस्टमा लागेर फर्केपछि संकटा उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

पहिलो पटक सुदूरपश्चिमा आयोजना भएको गोल्डकपको विजेता मनाङले उपाधिसँगै नगद ५ लाख र ट्रफी जितेको छ। उपविजेता संकटाले २ लाख ५१ हजार हात पार्‌यो।

मनाङलाई उपाधि दिलाउन सफल अनिल नै फाइनल खेलको 'म्यान अफ दि म्याच' र 'प्लेयर अफ दि टुर्नामेन्ट' चुनिए। उनले 'म्यान अफ दि म्याच' वापत ५ हजार र 'प्लेयर अफ दि टुर्नामेन्ट'को लागि एक थान थामाहा मोटरबाइक प्राप्त गरे। 

यस्तै विधागत अवार्डहरुमा मनाङले दुई अवार्ड जित्यो। मनाङका विराज महर्जन 'बेस्ट डिफेन्डर' तथा छिरिङ लोप्साङ 'बेस्ट कोच' चुनिए।

फाइनलमा पराजित संकटाका राजु नगरकोटी 'बेस्ट गोलकिपर' घोषित भए भने 'बेस्ट फरवार्ड'को अवार्ड भुटनिज क्लब ड्रुक स्टार युनाइटेडका केन्चो तोब्गेले प्राप्त गरे। 

यस्तै आयोजक सुदूरपश्चिम स्पोर्ट्स-११ का नरेन्द्र चौधरी प्रतियोगिताको 'राइजिङ प्लेयर' घोषित भए। सुदूरपश्चिमकै मनिराम चौधरीले सर्बाधिक गोलकर्ताको अवार्ड पाए।

मनिरामसँगै मनाङका अनिल, ड्रुक स्टारका केन्चो तोब्गे र भारतीय क्लब थोपीले समान ३ गोल गरेपनि आयोजकले मनिरामलाई सर्बाधिक गोलकर्ताको पुरस्कार दिएको हो। 
( फोटो : सीताराम ओझा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell