PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​दोस्रो बतासे अल्ट्रा ट्रेल रनको उपाधि वेदबहादुर र मन्जुलाई



पहिलोपोस्ट

काठमाडौं : वेदबहादुर सुनुवार र मन्जु रावतले दोस्रो  बतासे अल्ट्रा ट्रेल रनको उपाधि जितेका छन्। वेद पुरुष तथा मन्जु महिलातर्फ च्याम्पियन बनेका हुन्। काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी नेपाल आर्मीका वेदले ६ घण्टा १० मिनेट ५८ सेकेन्डमा पूरा गरे। 

२००९ सालदेखि दौडमा लागेका वेदले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन्। उनले २०१६ मा हङकङमा भएको १ सय किलोमिटर दूरीको अक्सफाम ट्रेल वाकर तथा २०१५ मा हङकङमै भएको द नर्थ फेसको ५०  किलोमिटर दूरीमा स्वर्ण जितेका थिए। चीनमा भएको ५० किलोमिटर दूरीको एसियन माउन्टेन रनिङ र स्काइ रनिङमा पनि वेदले पहिलो स्थान हात पारेका थिए । घरेलु प्रतियोगितामा वेदले एभरेष्ट म्याराथन, पाथिभरा म्याराथन तथा हेलम्बु म्याराथनमा शीर्ष स्थान कब्जा गरेका थिए।

यस्तै निर्धारित दूरी तय गर्न ६ घण्टा ३१ मिनेट ४५ सेकेन्डमा पुरा गरेका जुम्लाका दीपेन्द्र बम दोश्रो भए। ७ घण्टा १३ मिनेट १५ सेकेन्ड समय निकालेका गोर्खाका सुजल गुरुङ तेश्रो भए। गत वर्ष पहिलो भएका गोर्खाका भीम गुरुङ चौथो स्थानमा सीमित भए।
 
पहिलो संस्करण ३० किलोमिटर दूरीको थियो। ३ विदेशीसहित १९ जनाले भाग लिएका थिए। 

महिलामा पहिलो भएकी मन्जुले ८ घण्टा २८ मिनेट २० सेकेन्ड समय लगाइन्। अल्ट्रा दौडमा पहिलोपटक भाग लिएकी १४ वर्षीया जुम्लाकी मन्जु १ हजार ५ सय मिटर दौडकी विद्यालयस्तरीय कीर्तिमानधारी हुन्। युकेकी लिजा हकर ८ घण्टा ५५ मिनेट समयसाथ दोश्रो भइन्। ९ घण्टा ३३ मिनेट ०२ सेकेन्ड समय लगाउदै सिन्धुपाल्चोककी रशिला तामाङ तेश्रो भइन्। महिलातर्फ १ विदेशीसहित जम्मा ६ जना दौडेका थिए।
६५ किलोमिटरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे।

फ्रेन्ड्स अफ हिमालयन चिल्ड्रेनद्वारा आयोजित प्रतियोगिताको २५ किलोमिटर दौडको पुरुषमा आर्मीका गजेन्द्र राई पहिलो भए। उनले २ घण्टा १५ मिनेटमा दौड सकाए । रुपलाल बुढा मगर (२ घण्टा १७ मिनेट) दोश्रो तथा सिन्धुपाल्चोकका अनिल तामाङ (२ घण्टा २१ मिनेट) तेश्रो भए। ४१ प्रतिस्पर्धीले दौडमा सहभागिता जनाएका थिए।

१९ जना सहभागी सो स्पर्धाको महिलामा एपीएफकी सोनुजया राई पहिलो बनिन्। सोनुले निर्धारित दूरी २ घण्टा ५९ मिनेटमा तय गरिन्। सिन्धुपाल्चोकका भीममाया तामाङ (३ घण्टा ३५ मिनेट) दोश्रो र अनिता तामाङ (३ घण्टा ३५ मिनेट ०२ सेकेन्ड) तेश्रो भए। २५ किलोमिटरमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार जिते।

स्थानियको १२ किलोमिटर दौडको पुरुषमा विशाल तामाङ पहिलो, ओम स्याङ्तान दोश्रो र अम्बर तामाङ तेश्रो भ । त्यसै स्पर्धाको महिलामा सुनीता तामाङ पहिलो, कुमारी तामाङ दोश्रो तथा सपना तामाङ तेश्रो बने। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे। पुरुषमा ३६ र महिलामा १९ प्रतिस्पर्धी सहभागी थिए। विजेतालाई युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीलगायतले पुरस्कार प्रदान गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell