
काठमाडौँ : यस वर्षको ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ उपन्यासकार पद्मावती सिंहलाई प्रदान गरिएको छ।
गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानले प्रदान गर्ने उपन्यासकार धुस्वां सायमीको नाममा स्थापित ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ भने कलाकार चन्दा श्रेष्ठलाई प्रदान गरियो। पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ।
प्रतिष्ठानद्वारा शनिबार आयोजित पुरस्कार वितरण समारोहमा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपाली र प्रतिष्ठानका अध्यक्ष डा अरुण सायमीले संयुक्त रूपमा प्रत्येक दुईदुई वर्षमा वितरण गरिने सो पुरस्कार प्रदान गरे।
सोही अवसरमा कुलपति नेपालीले उपन्यासकार सायमीका उपन्यास पुराना भए पनि अहिलेका नयाँ पुस्ताका उपन्यासकारले लेखेको भन्दा पनि राम्रा भएको टिप्पणी गरे। प्रतिष्ठानका अध्यक्ष सायमीले नयाँ पुस्ताका साहित्यकारले साहित्यकार धुस्वां सायमीबाट धेरै कुरा सिक्नुपर्नेमा जोड दिए। फोटो : शब्दपथ