जुम्ला : यहाँको कालिकाखेतु गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ।
सदरमुकाम जुम्लादेखि ३६ किलोमिटर दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दूतावासले उपहारस्वरुप एम्बुलेन्स सहयोग गरेको हो। कालिकाखेतु गाविसको प्राथमिक स्वास्थ्य केन्द्रले औपचारिक कार्यक्रम गरी एम्बुलेन्स सेवाको उद्घाटन गरेको हो।
भारत सरकारद्वारा सहयोग गरिएको एम्बुलेन्सले सिंजा क्षेत्रसहित आसपासका मुगु र कालीकोट जिल्लाका केही गाविसका जनताको स्वास्थ्यमा आएको खतरामा आपत्कालीन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।
यसको सही व्यवस्थापन तथा परिचालन र प्रयोगमा भने यहाँको व्यवस्थापन समितिलगायत गाविसवासीले उचित ध्यान पुर्याउन पनि उनले सुझाए।
कालिकाखेतु गाविसका स्थानीय महिला ऐना बुढाले आफूले नचिताएको काम भएको बताउँदै आश्चर्य लागेको बताइन्। यहाँका सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई एम्बुलेन्सले सहयोग गर्ने उनको भनाइ छ। गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पुगेपछि कालिकाखेतु गाविसवासी खुसीले गद्गद् भएका छन्।