
काठमाडौं: बिहीबारबाट प्रदर्शनमा आएको फिल्म 'किङ' युनिटले भुइँमै बसेर फिल्म हेर्यो। हाउसफूल रहेका हलहरुमा दर्शक प्रतिक्रिया लिन युनिटका सदस्य हलहलमा पुगेका हुन्।
यो हप्ताका लागि बिहीबारबाट तीन नेपाली फिल्म किङ, शब्द र लभ सासा एकसाथ प्रदर्शनमा आएका हुन्। विकेन्ड सुरु हुनुअघि सार्वजनिक भएका फिल्महरुका लागि बिहीबार र शुक्रबारको तुलनामा शनिबार बढी दर्शकको फ्लो पाए।
सन्तोष शिवाकोटीले निर्देशन गरेको फिल्म शब्द र प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मको व्यापार सन्तोषजनक रहे। सबिर श्रेष्ठ निर्देशित ‘किङ’ले भने दर्शकको भिड जम्मा गर्यो। दर्शकलाई उत्साही तुल्याउन थिएटर पुगेको फिल्म युनिट भुइँमा बसेर फिल्म हेर्न परेको हो।
गोपिकृष्ण, गुण, अष्टनारायण लगायत हलमा ७५ प्रतिशत अकुपेन्सी साथ फिल्म प्रदर्शन भयो भने सिंगल स्क्रीनमा हाउसफुल भएको फिल्म वितरकको दाबी छ।
फिल्म निर्माता जयन श्रेष्ठले भने,'सबै फिल्मको आफ्नै दर्शक हुन्छन् भन्ने साबित भयो। एकसाथ तीन फिल्म आएर पनि किङलाई असर गरेन।'
दर्शकको प्रतिक्रयाले फिल्ममा दर्शक फ्लो बढाउने उनको अनुमान छ।
फिल्ममा निखिल उप्रेती, अनुपविक्रम शाही, वेनिशा हमाल, रुपन श्रेष्ठ लगायतको मुख्य अभिनय छ। एक्शन लभस्टोरी फिल्म जयन श्रेष्ठको निर्माण हो। फिल्ममा संजय लामाको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ।