
नुवाकोट : स्विट्जरल्यान्डमा रहेका नेपालीले नेपाली खाना पकाएर बेचेर संकलन भएको पैसाले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन बनाइदिएका छन्।
हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्डमा रहेको नेपालीले १४ लाख ५७ हजारमा विद्यालयको चारकोठे भवन बनाएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए।
काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत छन्।
नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले नेपाली खाना पकाएर बेच्ने तथा अन्य रचनात्मक कार्यक्रमबाट सङ्कलित रकम विद्यालय निर्माणका लागी खर्च गरेको बताए।
हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष लामाले भूकम्प गएपछि नुवाकोट क्षेत्रमा टिनका ३ सय अस्थायी घर र पाँच विद्यालय पुनःनिर्माणमा सहयोग गरेको जानकारीदिए।
रासस