PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​विमानस्थलमा टर्‍यो दुर्घटना : तीन वटा कुकुरले ३ सय ४० यात्रु बोकेको विमानलाई ३९ मिनेट रोके



पहिलोपोस्ट

​विमानस्थलमा टर्‍यो दुर्घटना : तीन वटा कुकुरले ३ सय ४० यात्रु बोकेको विमानलाई ३९ मिनेट रोके

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेर १३ मिनेट जहाज ल्यान्ड गर्ने समय थियो। समय तालिका अनुसारनै ३ सय ४० जना यात्रु बोकेर मलेसियाको क्वालालाम्पुरवाट काठमाडौंका लागि उडेको  एयर एसियाको जहाज कोटेश्वर नजिकै आइपुगिसकेको थियो।

विमान अवतरणको तयारीमा रहेका पाइलटलाई एक्कासी शन्देस आयो' जहाज ल्यान्ड नगर्नु।'

किन ?
तत्काल कारण खुलेन। चालकदलले हतार हतार विमान ओभरसुट गरेर आकाशतिर मोडे। ३९ मिनेट आकाशमै विमान होल्ड गरेर २ बजेर ५२ मिनेटमा जहाज विमानस्थलको रनवेमा उत्रियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानस्थलको रनवेमा एक्कासी तीन वटा कुकुर आइपुग्दा सम्भावित दुर्घटना रोक्न विमान ओभरसुट गराइएको हो।

एयर एसियाको डि ७१९२ नम्बरको जहाजलाई अवतरण गर्ने समयमा रनवेमा कुकुर देखिएपछि जहाजलाई ओभरसुट गराएर काठमाडौं हुँदै सिमाराको आकाशमा फर्काइएको ठाकुरले बताए।

सिकारीको माध्ययमवाट कुकुर हटाएपछि नियमित रुपमा विमानस्थल सुचारु गराइएको थियो। त्यसपछि सो जहाज २ बजेर ५२ मिनेटमा अवतरण गरिएको थियो।

ठाकुरका अनुसार अहिले सिसिटिभीको फुटेजमार्फत के र कसको कारणले जहाज फर्काउनुपरेको हो त्यबारे अनुसन्धान भइरहेको छ।

विमानस्थलको डोमेस्टिक तर्फको रनवेमा कुकुर देखिएपछि जहाज सिमारातरफ फर्काइएको हो। डोमेस्टिक रनवे भएको ठाउँनजिकै नेपाली सेनाको व्यारेक तथा सेनाको ह्याङ्गर, नेपाल वायुसेवा निगमको ह्याङ्गर र अन्य वायुसेवा कम्पनीका ह्याङ्गर रहेका कारण त्यसैको वरिपरीवाट कुकुर भित्र छिरेको हुनसक्ने ठाकुरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell