PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​पहिरोका कारण सामुदायिक बनका पोखरी पुरिए, संरक्षणमा जुटे स्थानीय



पहिलोपोस्ट

बेनी (म्याग्दी) : पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन्। 

तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् । ‘सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो’, स्थानीयवासी डेकबहादुर कार्कीले भने ‘तालहरू पुरिँदै गएकाले तालको पानी सुक्न थालेको छ ।’ 

तालका जलचर र फूलका प्रजातिसमेत नष्ट भएको कार्कीले बताए। 

सामुदायिक वनमा सतिपानी, रोहोटे, भसभसे, अमनीलगायत ताल रहेका छन् । अधिकांश ताल माटोले पुरिएपछि ताल पानीविहीन अवस्थामा पुगेका छन् । सामुदायिक वनमा रहेका कुवा, पोखरी र ताल पुरिएपछि यस क्षेत्रको जैविक विविधता नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताउछन् । विभिन्न माछाका प्रजाति र कालो र पहेँलो रङ्गको भ्यागुतासमेत तालमा हाल देखिन छाडेको उनले बताए। 

प्राकृतिक वस्तुको संरक्षणमा जुटे स्थानीयवासी 

यसैगरी, प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न म्याग्दीको ग्रामीण भेकका बासिन्दा सक्रिय हुन थालेका छन् । जिल्लाको ज्यामरुककोट र अर्मनका स्थानीय बासिन्दा सामुदायिक वनमा पाइने जडीबुटी, वन्यजन्तुजस्ता लोपोन्मुख वस्तु संरक्षण गरेर प्रकोप नियन्त्रण गर्ने योजनासहित प्राकृतिक संरक्षण सम्पदा संस्था खोलेका छन् । 

अन्नपूर्ण प्राकृतिक संरक्षण क्षेत्र बाहेकका क्षेत्रमा केही वर्षयता प्राकृतिक वस्तु र वन्यजन्तु लोप हुन थालेपछि संरक्षणका लागि अभियान थालेको जनाइएको छ । वनजङ्गलमा वन्यजन्तु लोप हुँदै जाँदा पर्यटकीय स्थानको महत्व कम हुँदै जान थालेपछि अभियान थालिएको अर्मनकी प्राकृतिक संरक्षण संस्थाकी सदस्य कोपिला कँडेलले बताइन्। 

उक्त क्षेत्रमा २४ प्रजातिका जडीबुटी पाइने स्थानीय बासिन्दाको भनाइ रहेको छ । बाघ, भालु, चितुवा, चित्तल तथा धेरै चरा पाइने भए पनि बिस्तारै लोप हुन थालेपछि अभियान सुरु गरेको संस्थाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell