PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कञ्चनपुरमा फोटोसहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता



पहिलोपोस्ट

कञ्चनपुर : जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन्। 

निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन्। ५३ वटा केन्द्रमा नामावली संकलन र अद्यावधिको कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल हरिलाल भट्टले बताए। 

एक महिनासम्म सञ्चालन हुने नामावली संकलन तथा अद्यावधिक कार्य आठवटै नगरपालिकाका एक सय दुई वडासहित चार गाविसमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले एकै साथ सुरु गरेको हो। नगरपालिकाको प्रत्येक वडा र गाविसमा केन्द्र निर्धारण गरी मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको नामावलीमा नाम समावेश गर्ने, नाम सार्ने, हटाउने र संकलन भएको नामावलीमा भएको त्रुटि सच्याउने लगायतका कार्य भइरहेको निर्वाचन लेखापाल भट्टले बताए। 

नामावली सङ्कलन र अद्यावधिकका लागि निर्वाचन कार्यालयले सातवटा टोलीलाई परिचालन गरेको छ। पुस १० गतेदेखि परिचालित टोलीले यही माघ १२ गतेसम्म नामावली सङ्कलन र अद्यावधिको कार्य गर्नेछ। जिल्ला निर्वाचन कार्यालयले गत वर्षसमेत मतदाताको नामावली संकलन र अद्यावधिक कार्य गरेको थियो। जसमा नयाँ दुई हजार छ सय ६६ मतदाता थपिएका थिए। सोही क्रममा तीस जना मतदाताको त्रुटि भएको नामावली सच्याइएको र ४० जना मतदाताको नामावली हटाइएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell