PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

दुबई पुगेर प्रधानमन्त्रीले भने- 'मधेसबिनाको काठमाडौं कल्पना गर्न सकिन्न'



पहिलोपोस्ट

दुबई पुगेर प्रधानमन्त्रीले भने- 'मधेसबिनाको काठमाडौं कल्पना गर्न सकिन्न'

दुबई : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशबिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन्। दुबईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पहाड र मधेशका नाममा कुनै पनि हालतमा क्षेत्रीय ध्रुवीकरण बढ्नु नहुने बताए।
 
'हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो। कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन,' उनले भने, 'मधेशका लागि काठमाडौं र काठमाडौंका लागि मधेश दुवै अभिन्न रुपमा जोडिएका छन्।' सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव पनि राष्ट्रिय एकता र अखण्डताकै लागि भएको उनले बताए।

कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ र राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ भनेर आफू देश दौडाहामा रहेको भन्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको पसिनाबाट आर्जेको बिप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ भन्नेबारे निरन्तर प्रयास गरिराखेको बताए। 'साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिल्यो। संसारका सबैभन्दा ठूला र अग्ला टावरहरु हेरियो,' उनले भने, 'यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर सगरमाथा छ। यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ।’
 
अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कारबाही गर्ने, दुबईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिटै निर्णय लिने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell