PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ललितपुर अदालत घुस प्रकरण : फिर्ता ल्याएको अदालतको कर्मचारीलाई सर्वोच्चले पुन अख्तियार पठायो



पहिलोपोस्ट

ललितपुर अदालत घुस प्रकरण : फिर्ता ल्याएको अदालतको कर्मचारीलाई सर्वोच्चले पुन अख्तियार पठायो

काठमाडौँ : सर्वोच्च अदालतले घुस लिँदालिदै पक्राउ परेका ललितपुर जिल्ला अदालतका कर्मचारी श्याम अर्याललाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फिर्ता पठाएको छ।

गत २२ गते अख्तियारले उनलाई पक्राउ गरी आफ्नो हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइरहेकै बेला ३ दिनपछि ललितपुर जिल्ला अदालतका कर्मचारी अख्तियार पुगेर फिर्ता ल्याएपछि विवाद भएको थियो।

सर्वोच्चले अर्यालबारे छानविनका लागि सह रजिष्ट्रार नृपध्वज निरौलाको संयोजकत्वमा जाँचबुझ तथा अध्ययन गर्न छानविन समिति गठन गरेको थियो। समितिले प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि कार्कीले अख्तियार फिर्ता पठाउन आदेश दिएकी हुन्।

आन्तरिक छानविन सकेर अर्याललाई थप कारवाहीका लागि अख्तियारमा फिर्ता पठाएको सर्वोच्चका सहायक प्रवक्ता विश्व पौडेलले जानकारी दिए।

छानविनमा के देखियो भन्ने विषयमा भने प्रवक्ता पौडेलले केही खुलाएनन्। अर्याल सहित फिर्ता ल्याइएको तीन लाख नगद र अख्तियारको अनुसन्धानको फाइल समेत फिर्ता गरिएको उनले बताए।

अख्तियारले कर्मचारी पक्राउ गरेपछि न्यायपरिषद् ऐनको दफा २४ अनुसार आफैँ जाँचबुझ गर्ने भन्दै अदालतले पत्र काटेको थियो।

महान्याधिवक्ता रमन श्रेष्ठले समेत अख्तियारले अदालतले पक्राउ परेको कर्मचारी फिर्ता ल्याएकोमा विरोध जनाएका थिए। कर्मचारीले घुस लिएको प्रकरणमा अदालतको कदमको सार्वजनिक रुपमा आलोचना भएपछि प्रतिवेदनमा समेत फिर्ता पठाउन सुझाव दिइएको स्रोतले जनाएको छ।
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell