.png)
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै भएको ३३ किलो सुन तस्करीमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री प्रहरी प्रधान कार्यालय तानिएका छन्। अनुसन्धानमा सुन तस्करीमा संलग्नसँग खत्रीको सम्पर्क देखिएपछि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वाटर तानेको हो।
आइतबार खत्रीलाई प्रहरी प्रधान कार्यालय बोलाइएको हो।
३३ केजी अवैध सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएको घटनालाई लिएर उनलाई विभागीय प्रक्रिया अनुसार प्रधान कार्यालयको प्रशासन विभागमा ल्याएको नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए।
खत्री एक वर्षदेखि विमानस्थलमा कार्यरत थिए। विमानस्थलमा ठूलो मात्रामा अवैध सुन बाहिरिएपछि अनुसन्धानको लागि विमानस्थल भन्सार कार्यालयका २९ जना कर्मचारीलाई यसअघि नै जिम्मेवारीमुक्त गरेर अनुसन्धान गरिरहेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ किलो सुन तस्करीमा अनुसन्संधान गरिरहेको छ। ब्युरोले तस्करीमा सलग्न रहेको अभियोगमा २ जना सरकारी कर्मचारीसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ।
प्रारम्भमा बाँकेका गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको ब्युरोले यसबीच भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ।