
धनुषा : सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रादेशिकस्तरीय कार्यालय जनकपुरमा स्थापना हुने भएको छ।
जनकपुरमा आयोजित एक कार्यक्रमबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य लीला उदासी खनालले द्वन्द्वकालीन समयको घटनाको उजुरीका आधारमा छानबिन गरी छिटोभन्दा छिटो पीडित पक्षलाई न्याय दिलाउने उद्देश्यले प्रादेशिकस्तरको सम्पर्क कार्यालय स्थापना गर्न अन्तिम तयारीमा लागेको बताए।
सदस्य खनालले भने ‘केन्द्रीय कार्यालयसरह नै सम्पर्क कार्यालयमा पनि शक्ति हस्तान्तरण गरिनेछ । माओवादी आन्दोलनको १० वर्षभन्दा बढी समय बितिसके तापनि हालसम्म द्वन्द्वको उचित व्यवस्थापन नभएकाले कार्यालय स्थापना गर्न लागेको हो।’
उनले हालसम्म ६० हजारभन्दा बढी द्वन्द्वकालमा घटेका विभिन्न घटनाको उजुरी परेको र सोको छानबिनका लागि स्थानीयस्तरमै कार्यालय स्थापना गरी छानबिन हुने जानकारी दिए।
विसं २०७१ माघ २७ गते स्थापना गरिएको आयोगको म्याद यही माघ २६ गते समाप्त हुन लागेको छ । आयोगको म्याद समाप्त हुनलाग्दा सदस्य खनालले पीडितलाई न्याय दिलाउने सवालमा सरकार गम्भीर भए मात्रै १ वर्ष म्याद थपका लागि पहल गर्ने बताए।
द्वन्द्वपीडितसँग आयोग सदस्य खनालले कुराकानी गर्ने क्रममा पीडित पक्षलाई काठमाडौँ बोलाउँदा छानबिनमा समस्या हुने भएको र पीडित पक्ष झन् पीडित हुने तथा आयोग पनि पीडकसरह हुने भएकाले प्रदेशदेखि जिल्लास्तर सम्म कार्यालय स्थापना गरिने बताए। रासस