PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​प्राविधिक ज्ञान र उपकरण अभावमा बहुमूल्य जडिबुटी शिलाजित उत्खनन भएन



पहिलोपोस्ट

बेनी : प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन। 

शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउछन्। 

नुनिलो र टर्रो स्वाद हुने शिलाजित भिरपहरामा मात्र पाइन्छ । शिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर शिलाजित बन्ने गरेको बताइन्छ। कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी लगायतका रोग निको हुने जनविश्वास छ। 

शिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्लाका आयुर्वे्दिक चिकित्सकले बताएका छन्। शिलाजित उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक रु १० करोड सम्मको शिलाजित बिक्री हुनसक्ने प्रबल सम्भावना रहेको भए तापनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी–व्यापारीको भनाइ रहेको छ। 

बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित खेर गइरहेको जिविस म्याग्दीले जनाएको छ । बजारमा प्रति दशग्राम शिलाजित रु २५ देखि रु ३० सम्ममा बिक्री हुन्छ। 

तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ। वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजित निर्यात हुने गरेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell