PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

जन्मदर्ता गराउनुस्, उपहार लिएर जानुस्



रासस

दमक : जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले 'ह्याप्पी बेबी गिफ्ट प्याक' उपहार कार्यक्रम सुरु गरेको छ।
 
यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो। जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताए।
 
गाविसलाई बालमैत्री गाविस घोषणाका लागि सहयोग पुर्‍याउन सो नौलो कार्यक्रम थालिएको हो। उक्त सेवा लिँदा गाविसले शिशुका लागि आवश्यक पर्ने सेम्पु, साबुनलगायत पोका नै उपहार दिने गर्छ। गाविसले सो कार्यक्रम सञ्चालन गराउन चालू आवका लागि रु तीन लाख रकम विनियोजन गरेको छ। उक्त कार्यक्रम झापामा नै पहिलो नौलो कार्यक्रम भएको सचिव शाक्यको भनाइ छ।
 
उपहार लिनका लागि सेवाग्राहीले शिशु जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्ने, शिशुले पहिलो खोप बिसिजी लगाएको हुनुपर्ने, परिवारले अनिवार्य रुपमा शौचालय बनाएको हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन्।
 
उक्त कार्यक्रमबाट गाविसले अघि सारेका खुला दिसामुक्त, पूर्णखोपयुक्त लगायत कार्यक्रमको प्रभावकारितामा सघाउ पुग्ने बताइएको छ। गाविसको स्वास्थ्य चौकीमा मासिक ४५ शिशुले नियमित रुपमा खोप लिँदै आएका छन्। कार्यक्रमबाट वार्षिक पाँच सयभन्दा बढी अभिभावकले सेवा लिने अपेक्षा गरिएको छ।
 
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell