
२ सय ३९ यात्रु सहित हराएको मलेसियन एयरलाइन्सको एमएच ३७० विमानको खोजी रोकिएको छ। सन् २०१४ को मार्चमा २ सय ३९ यात्रु रहेको विमान हराएको थियो। विमान दुर्घटनामा परेको भनिए पनि हालसम्म विमान कहाँ दुर्घटना भयो खुलेको छैन।
विमानको खोजी गर्न अस्ट्रेलिया, मलेशिया र चीनको संयुक्त टिम बनेको थियो। तीन वर्षको खोजीमा पनि विमानबारे केही संकेत नपाएपछि संयुक्त टिमले मंगलबारबाट खोजीको काम रोकेको जानकारी दिएको विविसिहिन्दीले जनाएको छ।
हिन्द महासागरमा विमान हराएको अनुमान गर्दै सो क्षेत्रको एक लाख २० हजार वर्ग किलोमिट क्षेत्रमा खोजी गरिएको थियो। तर सो क्षेत्रमा विमानबारे कुनै संकेत फेला नपरेपछि खोजी टोलिले खोजिको काम रोकेको हो।
खोजी टोलीले काम रोक्ने निर्णय सार्वजनिक गरेपछि विमानसँगै हराइरहेका यात्रुका परिवारले निर्णयलाई गैरजिम्मेवार भनेका छन्। उनीहरुले निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्। सन् २०१४ मा मलेसियाबाट बेइजिङ् जानेक्रममा विमान हराएको थियो।