चितवन : काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर गएराति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता भएका छन्। ट्याङ्कर पनि बेपत्ता छ।
रातिदेखि नै खोजी कार्य जारी रहेको थापाले बताए। ट्याङ्करमा रहेका सहचालक बारा अमलेखगन्जकै २५ वर्षीय प्रदीप लामा भने घाइते भएका छन्।
उनको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रहरी उपरीक्षक थापाले बताए।
ट्याङ्कर पानीमा पुगेपछि नदीमा झरेका सहचालक पौडेर बाहिर निस्किएको प्रहरीले जनाएको छ। अर्को गाडीलाई उछिन्ने क्रममा सो ट्याङ्कर खसेको सहचालकले बताएका छन्। रासस