PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कुलमान आएपछि बढ्यो प्राधिकरणको राजस्व, बारामा मात्रै बिजुली चोरी रोकेर ५४ लाख असुली



राधेश्याम पटेल

वीरगन्ज : नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले पछिल्लो १० महिनाको अवधिमा बारा, पर्सामा विद्युत् चुहावट गर्ने ३ सय ८५ जनालाई पक्राउ गरी ५४ लाख रुपैयाँ राजस्व असुली गरेको छ।
 
विद्युत प्राधिकरणमा नयाँ प्रबन्ध निर्देशक कुलमान घिसिङ आएपछि विद्युत चुहावट नियन्त्रणले तीव्रता पाएपछि राजस्व संकलन बढेको हो। १० महिनादेखि सक्रिय रूपमा विद्युत् चुहावट नियन्त्रण टोली परिचालित गरी जरिवाना असुल गरिएको वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए।

वीरगन्ज नगरक्षेत्र, पर्साको रतनपुर, इटियाही, उदयपुर घुर्मी, ड्राइपोर्ट बहुअरी, सानो पिपरा, ठूलो पिपरा, प्रसौनीबिर्ता, इनर्वा, अमरपट्टी, झौवा, पोखरिया सबस्टेसन क्षेत्रको गाउँहरु, जानकी टोला लगायतका ठाउँमा रातिको समयमा हुकिङ गरेर विद्युत् चुहावट गरेकाहरूलाई गस्ती टोलीले पक्राउ गरेको थियो। त्यसैगरी बाराको बहुअरी, लिपनीमाल, रामपुरटोकनी, प्रसौनी लगायतको क्षेत्रबाट पनि विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरिएको श्रीवास्तवले बताए।
 
विद्युत् कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले राति ११ देखि बिहान ४ बजेसम्म गाउँगाउँमा गस्ती गर्दै आएको छ। ठूलो सङ्ख्यामा विद्युत् चोरी गर्नेहरू पक्राउ पर्न थालेपछि गाउँलेहरू विद्युत् चोरीतर्फ निरुत्साहित हुन थालेका छन्। पक्राउ परेका व्यक्तिहरूबाट उनीहरूको घरमा जडान भएको विद्युत् लोडको आधारमा जरिवाना असुल गराइन्छ।
 
विद्युत् ऐन अन्तर्गत टोलीलाई अवरोध गरेको खण्डमा १० हजार रुपैयाँ जरिवाना र ६ महिना कैदको व्यवस्था रहेको प्रमुख श्रीवास्तवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell