PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भूकम्पपीडितलाई आजदेखि दोस्रो किस्ता : डेढ लाख पाउन घरको जग तयार हुनुपर्ने



पहिलोपोस्ट

भूकम्पपीडितलाई आजदेखि दोस्रो किस्ता : डेढ लाख पाउन घरको जग तयार हुनुपर्ने

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकलाई आवास निर्माणका लागि आजबाट दोस्रो किस्ताको रकम वितरण सुरु गरेको छ। दोस्रो किस्तामा लाभग्राही सूचीमा समावेश पीडितले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्।
 
प्राधिकरणले पहिलो चरणमा सिन्धुली, मकवानपुर र गोरखाबाट रकम वितरण सुरु गरेको हो। पहिलो किस्तामा ५० हजार रकम लिएर घरको जग निर्माण सम्पन्न गरी प्राविधिक जाँचपास गरेका पीडितले दोस्रो किस्ता रकम पाउनेछन्।
 
प्राधिकरणका सहायक प्रवक्ता भीष्मकुमार भुसालले दोस्रो किस्ता आजबाट सुरु भएको बताए। भुसालले भने, ‘जग बनाई प्राविधिकबाट जाँचपास भएकाले मात्र यो रकम पाउनेछन् । अहिलेसम्म तीन जिल्लाबाट दुई सय ८० परिवारले मात्र प्रक्रिया पूरा गरेका छन्।’
 
भुसालका अनुसार मकवापुरमा २ सय, सिन्धुलीमा ७३ र गोरखामा ७ परिवारले दोस्रो चरणको रकम पाउँदैछन्। संख्या बिस्तारै बढ्ने भुसालले बताए।
 
पहिलो किस्ता बापतको ५० हजार रकम लिने लाभग्राहीको संख्या ४ लाख ४६ हजार ७ सय १३ रहेको छ।
 
सरकारले गत पुस १८ गते भूकम्पपीडितलाई दोस्रो किस्ता रकम दिने सम्बन्धी कार्यविधि पारित गरेको थियो। कार्यविधि अनुसार पीडितले दोस्रो किस्तामा डेढ लाख रुपैयाँ र अन्तिम किस्तामा एक लाख रुपैयाँ पाउनेछन्।
 
पुरानो कार्यविधि अनुसार दोस्रो किस्तामा ८० हजार रुपैयाँ दिने व्यवस्था थियो। सुरुमा पीडितलाई दुई लाख रुपैयाँ सहायता दिने निर्णय भएकोमा वर्तमान सरकारले तीन लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ३६ लाभग्राही पहिचान भएका छन्। दोस्रो किस्तामा रकम पाउने सूचीमा झण्डै २० हजार पुगिसकेका छन् ।
 
उपत्यकामा ६७ हजार ८ सय ३६ पीडितसँग अनुदान सम्झौता भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell