PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

यो वर्ष किन ग्यास अभाव भएन? बिक्रेताहरु भन्छन्- 'कुलमानले लोडसेडिङ हटाएपछि'



अमर बडुवाल

यो वर्ष किन ग्यास अभाव भएन? बिक्रेताहरु भन्छन्- 'कुलमानले लोडसेडिङ हटाएपछि'

काठमाडौं : पछिल्लो केही वर्षदेखि उपभोक्ताले जाडोमा सहज रुपमा ग्यास पाएनन्। जाडो लाग्नेबित्तिकै ग्यासको माग बढ्ने तर आपूर्ति नबढ्दा अभावको सास्ती खेप्नुपरिरह्यो।
 
तर यो वर्ष उपभोक्ताले जाडोमा ग्यास अभाव खेप्नुपरेन। सहज रुपमा ग्यास पाए। यो वर्ष ग्यास अभाव किन भएन त?
 
उपभोक्ता भन्छन्, यो वर्ष राजधानीमा लोडसेडिङ भएन। जाडोमा पानी तताउनेदेखि खाना पकाउनेसम्म बिजुलीबाटै गर्न सकियो।'
 
कीर्तिपुरकी शान्ति गुरुङ भन्छिन्, 'बिजुली आएपछि ग्यासको प्रयोग नै कम भएको छ।'
 
जाडोमा ग्यास किन्नेतिर ध्यानै दिनुपरेको छैन। नेपाल आयल निगमको तथ्यांक हेर्ने हो भने यो जाडोमा ग्यासको खपत अत्यन्तै कम छ। गर्मी बेलामा जस्तै खपत हुनुको एउटै कारण हो बिजुली। जाडोयाममा ग्यासको माग ४० हजार टनको हाराहारी हो तर यो वर्ष जाडोयाममा ग्यासको माग ३० हजार टन मात्रै छ।
 
निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार डिसेम्बर महिनामा ३० हजार टन ग्यास आयात भयो। जनवरी महिनामा पनि त्यतिकै हाराहारीमा ग्यास आउँदैछ। ग्यास बिक्रेता महासंघ नेपालका अनुसार जाडोयाममा ग्यासको माग यो वर्ष सामान्य समयको जस्तै छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार यो वर्षको जाडोमा विजुली निरन्तर आएकोले ग्यासको माग बढेन।
 
जाडो सुरु भएपछि पानी तताउन र हिटरमा प्रयोग गर्न मासिक करिब १० हजार टन ग्यास बढी खपत हुन्थ्यो। 'जाडोयाममा मासिक ४० हजार टन ग्यासको माग हुने गरेकोमा अहिले ३० हजार ल्याउँदा पनि छेलोखेलो भएको छ,' उनले भने।
 
महासंघका अध्यक्ष अर्याल कुलमान घिसिङ विद्युत प्राधिकरणमा आएर बिजुली दिएपछि ग्यासको खपत घटेको बताउँछन्। उनका अनुसार घिसिङले अझै पहल गरेर देशभर लोडसेडिङ हटाउने हो भने ग्यासको माग अझै घट्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell