
एक समय भारतीय टेलिसिरियल 'कसौटी जिन्दगी की' नेपाली दर्शकमाझ निकै लोकप्रिय रह्यो। सो सिरियलका पात्र मिस्टर बजाज जसले भारत साथै नेपालमा पनि सयौं फ्यान कमाए। कुशल अभिनय र आकर्षक व्यक्तित्वका कारण अहिलेसम्म पनि सिरियलहरुमा तिनै मिस्टर बजाज उर्फ रोनित रोयको डिमान्ड रहेको छ।
केही ठूलो पर्दाका फिल्महरुमा पनि देखिएका उनी अब ऋृतिक रोशनको फिल्ममा भिलेनको रुपमा देखिने भएका छन्। संयोग के रह्यो भने, तिनै रोनित रोय एक समय ऋतिक रोशनको पर्सनल बडीगार्ड रहेका थिए।
उनले बिबिसी हिन्दीसँग भने,'मैले ऋृतिक स्टार हुनु अघिदेखि नै चिन्छु। तर भेट फिल्म बन्ने क्रममा नै भयो।'
कहो ना प्यार है बनाउँदा उनले ऋतिकको बडीगार्ड बन्न परेको सुनाए। भने,'राकेश रोशनले ऋृतिकसँगै रहन लगाए। सुटिङको क्रममा घटेको विभिन्न घटनाले मलाई उनको बडिगार्ड बनायो।' उनी आफूलाई अरु पनि धेरै सेलिब्रिटीको गार्ड बनेको बताउँछन्। सेक्युरिटी कम्पनी चलाउँदै आएका उनले आमिर खानको लागि दुई वर्ष र शाहरुख खानका लागि केही समय सेक्युरिटीको काम गरे।
अब रोनित ऋृतिकको भिलेनको रुपमा देखिँदैछन्। अभिनय आफ्नो रहर मात्र नभएर क्षमता पनि भएको बताउँछन्। तर पुराना दिनहरुमा फिल्म, टेलिफिल्ममा सानो तिनो रोल पनि नपाएर दिक्क भएको सम्झन्छन् रोनित। भने,'पैसा खर्च गरेर पनि अभिनय गरें। तर पहिलो फिल्म 'जान तेरे नाम' फ्लप भएपछि निकै आत्तिएँ।'
रोनितका भाइ रोहित रोयले पनि कलाकारको रुपमा आफ्नो परिचय स्थापना गरेका छन्। रोहित संजय लिला भंसालीको निर्माण कम्पनीमा निर्देशकको रुपमा पनि कार्यरत छन्।
यी दुई दाजुभाइले आफूहरुलाई हाल निर्माण हुने फिल्म, सिरियलको कन्टेन्टमा चित्त नबुझेको बताए।