
काठमाडौँ : महाभियोग सिफारिस समितिले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावअनुसार छानबिन गर्ने भएको छ। समितिले बुधबार तीन सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिमा नेपाली कांग्रेसका दीपक कुँइकेल, नेकपा एमालेका रेवतीरमण भण्डारी र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारी रहेका छन्। समिति सदस्य केशब बडालका अनुसार उपसमितिले १५ दिनभित्र प्रतिवेदन दिनेछ।
माओवादी केन्द्रका सांसद अमनलला मोदीले 'लोकमानले पदमा रहँदा केके गरे' भन्नेबारे उपसमितिले छानबिन गर्ने बताए। उनले महाभियोग सिफारिस समितिले संसदको पूर्ण बैठकमा प्रतिवेदन दिने र बाँकी जिम्मेवारी संसदकै हुने जानकारी दिए।
महाभगियोग प्रस्ताव अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा अन्योल भइरहेका बेला समितिले अनुसन्धान गर्ने निर्णय लिएको हो। यद्यपि तत्कालीन अख्तियार प्रमुख कार्कीले भने देश छाडिसकेका छन्।
संविधानकै व्यवस्था अनुसार गठन भएको महाभियोग सिफारिस समितिलाई महाभियोग प्रस्तावसँग सम्बन्धित व्यक्तिलाई खानतलासीसम्मको अधिकार छ।
बुधबार समितिमा पुगेर महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले महाभियोगका सम्बन्धमा सुझाव दिएका थिए। उनले झन्डै डेढ घन्टा धारणा राखे। स्रोतका अनुसार श्रेष्ठले 'भए गरेका काम कारबाहीबारे छानबिन गर्न समितिलाई कुनै रोकतोक नभएको' धारणा राखेका थिए। लगत्तै समितिले उपसमिति गठनको निर्णय लिएको थियो।