
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकाससँगै अज्ञात स्थानमा बसेर अज्ञात व्यक्तिले औंलाले क्लिक गरेकै भरमा गम्भीर प्रकृतिको अपराध गर्न सक्ने अवस्था आएको बताएका छन्।
काठमाडौंमा आजदेखि सुरु भएको प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको २३औं एसिया प्यासेफिक सम्मेलनमा सम्बोधन गर्दै उनले अपराध नियन्त्रणमा चुनौती बढिरहेको बताए। सम्मेलनको उद्घाटन गर्दै उनले आतंकवादीहरुले प्रविधिको दुरुपयोग गरेर सञ्जाल विस्तार गरिरहेका र यसले नियन्त्रणलाई जटिल बनाएको बताए।
'एक देशको प्रयासले मात्रै अन्तरदेशीय अपराध र संगठित अपराध नियन्त्रण सम्भव छैन,' उनले भने, 'यस्तो प्रकृतिको आपराध विरुद्ध लड्न अनतर्राष्ट्रिय समन्वय आवश्यक पर्छ।'
आतंकवाद र संगठित अपराध कुनै एक देशको मात्रै समस्या नभएर विश्वव्यापी भइसकेकाले यसको नियन्त्रणका लागी समेत एकीकृत प्रयास आवश्यक रहेको उनको भनाइ छ।
कानुन कार्यान्वयन गर्ने निकायबीच साधनस्रोत, प्रविधि र सूचना संकलनमा सहकार्य गरेर विश्वलाई सुरिक्षत बनाउन सकिने बताउँदै उनले कानुनी राज्यको निर्माण र संविधान कार्यान्वयन लागि कानुन कार्यान्वयन गर्ने निकाय बलियो हुन आवश्यक रहेको बताए।
कानुनी राज्यको बनाउन प्रहरी र कानुन कार्यानव्यन गर्ने अन्य निकायको प्रभावकारी भूमिका आवश्यक रेहेको बताउँदै यसका लागि नेपाल सरकारले कानुन कार्यान्वयन गर्ने निकायको क्षमता वृद्धिलाई सधैं प्राथमिकता दिने गरेको उनको भनाइ थियो।
सम्मेलनमा भाग लिन ५५ देशका २ सय ५० प्रतिनिधि काठमाडौं आइपुगेका छन्। सम्मेलनमा मानव तस्करी, बलात्कार, संगठित अपराध, अवैध सुन तस्करी, साइबर क्राइम, म्याच फिक्सिङ लगायतका विषयमा छलफल हुनेछ। भारत, अफगानिस्तान, चीन, मकाउ, थाइल्यान्ड, श्रीलंका, बंगलादेश लगायतका देशका प्रहरी प्रमुख सम्मेलनमा सहभागी छन्।