
बलिउड अभिनेता सलमान खानले १८ वर्षअघि कालो हरिण मारेको आरोपबाट सफाइ पाएका छन्। जोधपुर अदालतले सलमान विरुद्धको आरोप खारेज गरेको हो।
१९९८ मा फिल्म 'हम साथ साथ है' को सुटिङ युनिट फ्लोरमा रहँदा सलमानले हरिणको शिकार गरेको आरोप थियो। उनले शिकारको समय अवैध हतियार राखेको बताइएको हो। दुई वटा हरिण मारेको आरोपका कारण सलमानले जोधपुर जेलमा सात दिन बिताएका थिए। तर उनलाई अदालतले जमानतमा छाडेको थियो।
अदालतले सलमानसँग कुनै पनि किसिमको हतियार भएको पुष्टि नभएको भन्दै केस बन्द गर्ने निर्णय गरेको हो।
मुद्दा सुरु भएदेखि सलमान र उनका वकिलले सलमानसँग अवैध हतियार नभएको बताउँदै आएका थिए। सलमानले सुरुदेखि नै आफूलाई फसाइएको दाबी गर्दै आएका थिए।
सलमानलाइ यसअघि नै राजस्थान हाइकोर्टले लोपउन्मुख हरिण मारेको अर्को एउटा आरोपमा सफाइ दिइसकेको छ। यद्यपि घटनामा राजस्थान सरकारले सुप्रिम कोर्टमा पुनरावेदन गरेको छ।