
काठमाडौः त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियन चुनावमा उम्मेदवार लागि तोकेको उमेर हद नेपाल विद्यार्थी संघले अस्विकार गरेको छ।
आगामी फागुन १४ गते तोकिएको निर्वाचनका लागि विश्वविद्यालयले उमेर हद २८ वर्ष ताेकेको थियो। निर्वाचनको मिति तोकेको २ सातापछि सत्ताधारी दल नेपाली कांङ्ग्रेसको भातृ संस्था विरोधमा उत्रिएको हो।
बुधबार पत्रकार सम्मेलननै गरेर संघले उमेर हद तोक्ने काम त्रिविवि सभाको २०६९ सालमा गरेको निर्णय विपरित भएको दावी गरेको हो। पत्रकार सम्मेलनमा गरिएको दावी अनुसार त्रिभूवन विश्वविद्यालयले ०६९ मा सबै विद्यार्थीको सल्लाहमा एक पटकका लागि उमेर हद लागु हुने तथा मिश्रीत निर्वानचन प्रणाली लागु गर्ने निर्णय गरेको थियो।
संघको गत पुष २६ देखि माघ ३ सम्म बसेको केन्द्रीय समिति बैठक पछि पत्रकार सम्मेलन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले एकपटक भनेर तोकेपछि चुनाव नै नगराई नियम मात्र सच्याउने काम गरेर त्रिविविले त्रुटीपूर्ण निर्णय गरेको दावी गरे।
संघले निर्वाचनमा समानुपातिक प्रणालीबाट आएकालाई मात्र समानुपातिक पदाधिकारीमा नियुक्त गर्नुपर्ने निर्णय अव्यवहारिक र त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ।
नेविसंघले उमेर हदका विषयमा त्रिविविका कुलपति तथा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तथा त्रिविविका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ।
उमेर हदको विरोधमा रहेको संघले स्ववियु चुनावको माग गर्दै सात हजार एक सदस्यीय तयारी समिति गठन गरेको छ।
नेविसंघले निजामति ऐनमा विद्यार्थी संगठनमा लागेकाले दुई वर्षसम्म प्रवेश नपाउने भन्ने प्रवधानको विरोध गर्दै सच्याउन माग समेत गरेको छ।