PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

साझा प्रकाशनको २६ बुँदे कार्ययोजना सार्वजनिक, कर्मचारीको तलब एक वर्षभित्र भुक्तानी गरिने



पहिलोपोस्ट

साझा प्रकाशनको २६ बुँदे कार्ययोजना सार्वजनिक, कर्मचारीको तलब एक वर्षभित्र भुक्तानी गरिने

ललितपुर : साझा प्रकाशनले आगामी दुई वर्षका लागि २६ बुँदे नयाँ कार्ययोजना सार्वजनिक गरेको छ।
 
संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा पत्रकार सम्मेलन गरी अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले 'एक पटक एक काम : साझा प्रकाशन' नारासहित दुईवर्षे कार्ययोजना सार्वजनिक गरेका हुन्।
 
सरकारबाट प्राप्त ३० करोड संस्थाको वर्तमान आर्थिक सङ्कट समाधानका लागि हुने भएकाले थप सहयोग ल्याउन पहल गर्ने समेत शर्माले बताएका छन्। समावेशीको अवधारणालाई प्राथमिकता दिँदै विभिन्न भाषाभाषीका पुस्तक प्रकाशनका लागि नियमित बजेटअन्तर्गत कम्तीमा १० करोड उपलब्ध गराउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, संस्थाको छापाखानालाई आधुनिकीकरण गर्ने, भूकम्पले क्षति पुर्‍याएको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि आवश्यक पहल गरिने कार्ययोजनामा उल्लेख छ। साथै ‘साझा प्रकाशन संस्थान ऐन २०७३’ जारी गर्न नीतिगत व्यवस्थाका लागि नेपाल सरकारसँग आवश्यक पहल गरिने पनि शर्माले बताए।
 
पाठ्यपुस्तक वितरणका लागि जनक शिक्षासँग अद्यावधिक व्यावसायिक सम्बन्ध स्थापित गर्दै सरकारको नीतिगत सहयोग मूर्त सर्तनामासहित स्थायी कार्यविधि तय गर्ने, उच्च शिक्षाका अन्य प्रकाशनहरूको पनि वितरण गर्ने, कक्षा ११–१२ को ‘सबैको नेपाली’ जस्ता अन्य पुस्तक उत्पादन तथा बिक्रीवितरणको जिम्मेवारी लिने साझाको योजना छ। साझामा रहेका जनक शिक्षा सामग्री केन्द्रका गृहिणी शिक्षा, अनुवाद पुस्तकलगायत पुरानो स्टक किताब फिर्ता गरी हरहिसाब मिलान गर्ने तथा आगामी फागुन महिनाभित्र २०६४–०६५ देखि २०७२–०७३ सम्मको लेखापरीक्षण गरिने कार्ययोजना बनाइएको शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए।
 
पुस्तक प्रवर्द्धनका लागि ४ महिनाभित्र देशका प्रमुख सहर तथा विदेशमा पनि पुस्तक प्रदर्शनी आयोजना गर्ने तथा भारतको सिलिगुडीमा शाखा स्थापना गर्ने संस्थाको योजना छ। आर्थिक वर्ष २०६४–०६५ देखि २०७१–०७२ सम्मको आर्थिक गतिविधिको निष्पक्ष छानबिन गरी यथार्थ वस्तुस्थिति यसै वर्षभित्र सार्वजनिक गर्ने पनि महाप्रबन्धक शर्माले प्रतिबद्धता जनाएका छन्।
 
'साझा प्रकाशनका कृतिको अनधिकृत रूपमा बाहिरी प्रकाशनगृहले प्रकाशन गर्न थालेकाले तिनलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याइनेछ,' शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आफ्ना कृतिहरू समयमै पुनः मुद्रण गरी बजार मागअनुसार पूर्ति गरिनेछ। नयाँ तथा उत्कृष्ट कृतिलाई प्रकाशन गरिनेछ।'
 
सांसद विकास कोषको बजेटबाट साझा प्रकाशनबाट दुई लाखको पुस्तक खरिद गर्नका लागि हरेक सांसदलाई पुन: आग्रह गरिने पनि शर्माले बताए। संस्थाको वेबसाइटलाई अद्यावधिक गरी साझाका पुस्तकहरूलाई ई–बुकमार्फत बिक्री गर्ने व्यवस्था मिलाइने तथा प्रत्येक शुक्रबार ३ बजे साताभरिका सम्पूर्ण गतिविधिलाई वेबसाइट तथा सूचनापाटीमा समावेश गर्ने पनि आगामी कार्ययोजनामा उल्लेख छ।

कर्मचारीको उपदान, स्वेच्छिक अवकाश लगायत विभिन्न समयमा संस्थाबाट अवकाश प्राप्त १७२ जना कर्मचारीलाई भुक्तानी गर्नुपर्ने २८ करोड रुपैयाँ एक वर्षभित्र भुक्तानी गरिसकिने शर्माले बताए।
 
विश्वसाहित्यमा नेपाली साहित्यलाई पुर्‍याउन अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गरी नेपाली साहित्यलाई विश्व बजारमा पुर्‍याइने तथा गरिमा मासिकको स्तरोन्नति र व्यावसायिक अभिवृद्धि गर्न योजनासहितको कार्यकारी सम्पादक नियुक्त गरिने शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लेखकहरूलाई भुक्तानी गर्न बाँकी १ करोड ५० लाख लेखकस्व ०७३–०७४ मै भुक्तान गरिने र पठनसंस्कृतिको विकास गर्न प्रकाशनले घुम्ती पुस्तक पसल सञ्चालन गर्ने योजना समेत बनाएको महाप्रबन्धक शर्माले बताए।

यसै वर्षदेखि सुरु गरिएको साझा सम्मानलाई निरन्तरता दिन १ करोडको अक्षयकोष खडा गर्ने संस्थाको योजना छ। केही दिनअघि मात्रै यो सम्मानबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई सम्मान गरिएको थियो।
 
पत्रकार सम्मेलनमा महाप्रबन्धक शर्माले आफ्नो दुईवर्षे कार्यकालमा साझाको जग पहिल्याउने काम भएको भन्दै थप गरिएको चार वर्षे कार्यकालमा संस्थाको साख पुरानै अवस्थामा फर्काउन प्रयास गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell