PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पुष्पलालदेखि पुष्पकमलसम्म : चाचाको क्रान्तिकारी गाथा



पहिलोपोस्ट

पुष्पलालदेखि पुष्पकमलसम्म : चाचाको क्रान्तिकारी गाथा

  • किशोर दहाल 
माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन्। शान्ति प्रक्रियामा अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए। अनेक कोणबाट तथ्यहरु खोतलिए। तर, जनयुद्धकालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको उपलब्धताको प्रक्रिया र स्रोतको यथार्थ कथा भने आमजानकारीमा छैन। तिनै सामग्रीको आपूर्तिको मुख्य जिम्मेवारी लिएर कुशलतापूर्वक भूमिका निर्वाह गरेका भक्तिप्रसाद पाण्डे ‘चाचा’को आत्मकथा ‘चाचा’ प्रकाशित भएको छ। पत्रकार सीताराम बरालको सहयोगमा पुस्तक प्रकाशनमा आएको छ, पाण्डेको केही साताअघि क्यानसरबाट निधन भएको थियो।
 
प्रकाशित पुस्तक चाचामा सँगसँगै कुदिरहने दुई वटा जीवन छ। पहिलो, पाण्डेको सरल जीवनशैली, आस्थाप्रति निरन्तर सचेतता र स्वेच्छिक बाध्यताको जीवन। दोस्रो, जनयुद्धकालमा उनले निर्वाह गरेको ‘सप्लाई विभाग’को भूमिकाको कठिन जिम्बेवारीबोध, रोचक तथा चातुर्य कार्यकुशलतको बयान। पुस्तक पढिसक्दा किशोरवयमा पाण्डेले जुन खालको जीवनप्रति मोह देखाएका थिए, अविचलित भएर त्यसैलाई व्यतित गरेका थिए भन्न सकिन्छ।

‘कम्युनिस्ट व्यवस्थामा सबैले समान हैसियतले काम गर्नुपर्ने रहेछ, सबैमा समानता हुने रहेछ’ भन्ने बालबुझाइमा दृढ भएर पाण्डेले कम्युनिस्ट राजनीति सुरु गरेका थिए। र, त्यही मान्यताका लागि स्वेच्छिक बाध्यताको जीवन बाँचिरहे। उनी शब्द पाखण्डमा नभई, व्यावहारिक रुपमा नै क्रान्तिकारी कम्युनिस्ट थिए। पुष्पलालको पार्टीबाट पुष्पकमलको पार्टीमा पुग्दासम्म पनि उनले आफ्नो लक्ष्य भुलेनन्। रगतले ल्याप्चे लगाएर पार्टी सदस्यता लिएदेखि जारी संविधानको एउटा हस्ताक्षरकर्तासम्मको यात्रालाई नियाल्दा उनको निरन्तर क्रान्तिकारी चेतलाई प्रस्ट पार्छ। पार्टी सदस्यतालाई उनले कहिल्यै अवसरमा बदलेनन्, बरु जिम्मेबारी थपिएको ठाने। ढुक्क भएर सजिलो बाटो खोज्दै हिँडेनन्, क्रान्तिको निम्ति यथाशक्य प्रयत्न गरिरहे। कैयौं दिन भोको बस्दा पनि, पैसा नभएर भारतीय रेलमा लुकिछिपी हिँड्दा पनि उनको आस्था कहिल्यै डगमगाएन। बाँचेको जिन्दगीप्रति कहिल्यै पछुतो मानेनन् बरु बहुजन नेपालीको, काम गरिखाने वर्गको हितको लागि आफूलाई सधैं सतिसालझैँ उभ्याइरहे। स्वार्थी समूहमा परिणत भइरहेका अहिलेका कम्युनिस्ट कार्यकर्तालाई पाण्डेको जीवन भोगाइ फिल्मीजस्तो लाग्न सक्छ। तर, आस्थाले मानिसलाई कसरी एकोहोर्‍याउँछ, डोहोर्‍याउँछ र लगनशील बनाउँछ भन्ने यथार्थ दस्तावेज हो, ‘चाचा’।

पण्डेको आत्मकथाले कम्युनिस्ट आन्दोलनका धेरै पक्षमाथि स्पष्टता थप्छ र प्रश्न पनि उठाउँछ। उनको सादगी, लक्ष्यप्रति दृढ र सचेत दृष्टिले अहिलेका कम्युनिस्ट नामका पार्टी र नेताको विचलनको कथालाई पनि उदाङ्गो पार्छ। सिधै भनेर वा नभनेर धेरै प्रश्नहरुको उत्तर दिनसक्नु वा धेरै सवालहरुमाथि प्रश्न उठाउन सक्नु पुस्तकको बलियो पक्ष हो।

आफ्नो सरलता, कर्तव्यनिष्ठतालाई जीवनभर मूल मन्त्र बनाएर हिँडेका पाण्डे तत्कालिन युद्धरत माओवादीमा प्रवेश गरेपछि हतियार सप्लाइको जिम्मेवारीमा पुग्छन्। असफल हर्रेबर्रे मनी एक्सनमा नै हतियार सप्लाईको जिम्मेवारी पूरा गरिसकेका पाण्डेको निम्ति उनकै शब्दमा ‘सुहाउँदो’ क्षेत्र थियो। उनले आफ्नो जिम्मेबारी कुशलतापूर्वक पूरा गरेका छन्, कैयौं तितामिठा अनुभूतिसहित।
 
आत्मकथाको यो पक्ष रोचक र जानकारीमूलक छ। हतियार र गोलीगठ्ठा खोज्दै उनी असम, मणिपुर, नागाल्याण्ड तथा बर्माको सीमासम्म पुगे। कहिले केरा बोक्ने गाडीमा, कहिले कोइला बोक्ने ट्रकमा हतियार नेपाल ल्याइरहे। कसलाई कसरी ढाँट्ने, कसलाई फकाउने, कसलाई थर्काउने, अप्ठेरो पर्दा, प्रहरी जाँचमा पर्दा कसरी आफू र हतियारलाई जोगाउने जस्ता कलामा निपूण भएका थिए पाण्डे।
 
पाण्डेले बाँचेका दिनहरु कठीन थिए। तर, कठिन समयमा पनि आफ्नो कला र क्षमताको प्रयोगको रोचकरोचक वर्णन गरिएको छ पुस्तकमा। पुस्तकका प्रत्येक शब्दशब्दमा उनको धीरता, चलाखी, कार्यकुशलता र लक्ष्यप्राप्तीको लगावलाई पुष्टि  गर्छ। जसले जनयुद्धमा प्राण भरिरहेको थियो भन्न सकिन्छ।

हातहतियार र गोलीगठ्ठाका सम्बन्धमा पाण्डेको दुई निष्कर्ष निकै रोचक छन्। पहिलो– हतियार र गोलाबारुद भन्ने चीज पशुपतिमा पाइने गाँजा जस्तै रहेछ। सामान्य मान्छेले एक चिलिम पाउँदैन, गँजडीहरुले एक डोको गाँजा फेला पार्न सक्छन्। दोस्रो, भारतमा जस्तो शासनप्रणाली छ, त्यो रहुञ्जेल जति बेला चाह्यो त्यति बेला आफूलाई चाहिने हतियार ल्याउन सक्छौं; तिनै हतियारको बलमा सशस्त्र आन्दोलन अघि बढाउन सक्छौं।

हातहतियारको स्रोत, मूल्य, कठिनाईसँगै थाहा पाइने अर्को पक्ष हो– सञ्चार उपकरणको मूल्य, उपलब्धता र प्रयोग। जनयुद्धमा माओवादी नेताहरुले स्याटेलाइट फोन प्रयोग गरेका थिए भन्ने धेरैलाई थाहा छ। तर, ती कसरी उपलब्ध हुन्थे र प्रयोग गरिन्थे भन्नेचाहिँ धेरैलाई थाहा छैन। पुस्तकमा यस बारेमा पनि चर्चा गरिएको छ। घटना वर्णनहरु पढिरहँदा यस्तो लाग्छ, माओवादीले युद्ध आँट र साहस भन्दा बढी रणनीतिक कार्यकुशलताले लडेको थियो।

बाबुराम भट्टराईको १३ बुँदे असहमतिपत्र नेपाल साप्ताहिकमार्फत सार्वजनिक हुनुमा स्याटेलाइट फोनको भूमिका रहेको थियो। पार्टी कारबाहीमा परेका बखत भट्टराईलाई पाण्डेले नै सुटुक्क स्याटेलाइट फोन उपलब्ध गराएका थिए। त्यही फोनबाटै भट्टराइले उनको १३ बुँदे असहमतिपत्र लखनउमा रहेका पाण्डे, पाण्डेले राम कार्की हुँदै नेपाल साप्ताहिकमा पुर्‍याएका थिए। पार्टीमा भट्टराई निकट रहेका पाण्डेको प्रचण्ड–बाबुराम संघर्ष र कारबाहीबारे अलि फरक मत राखेका छन्। उनी भन्छन्– बाबुरामजीप्रति अध्यक्ष प्रचण्डमा जस्तो स्नेह थियो, कारबाहीपछि पनि त्यो घटेको थिएन। यसमा पाण्डेको आफ्नै तर्क र बुझाइ छन्।

पुस्तकमा केही कमजोरी छन्। त्यसो त जीवनको अन्तिम सासहरु लिइरहेका बखत पुस्तक तयार भएकाले ती अञ्जानवश छुटेका हुन सक्छन्। कतिपय ठाउँमा हतियार तथा विस्फोटक पदार्थको सप्लाई वर्णन अधुरा लाग्छन्। सामान्यतया हतियार किनेपछि नेपाल ल्याउन गरिएका कठीनाई छन्, हतियारको स्रोतसम्म पुग्दा कठिनाइबारे लेखिएको छैन। पाठकका मनमा जिज्ञासा उब्जिन्छन्, तर उत्तर छैन। त्यस्तै, कम्युनिस्ट आदर्शमा निरन्तर रहनाका लागि यसका दार्शनिक पक्षको ज्ञानको आवश्यकता सहजै अनुमान गर्न सकिन्छ। तर, करिब चार दशक निरन्तर कम्युनिस्ट दर्शन पछ्याएका पाण्डेको दार्शनिक स्कुलिङबारे लेखिएकै छैन।

पुस्तकभरि फरकफरक शीर्षकमा पाण्डेले आफ्नो जीवन भोगाइ लेखेका छन् । त्यसैमध्ये एउटा हो– प्रचण्ड बाबुरामः मेरो मूल्याङ्कन। तर, प्रचण्ड र बाबुराम दुवैको निकट र विश्वासपात्र भएर महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेका पाण्डेको मूल्याङ्कन भने अधुरो लाग्छ। शीर्षकले जुन ओझ बोकेको छ र मूल्याङ्कनको अपेक्षा राखेको छ, प्रस्तुती भने निकै हलुका छ। सतही मात्रै छ। केवल सामान्य कार्यकर्ताकै शैलीमा पुरक भूमिकालाई जोड दिइएको छ।
 
समग्रमा पुस्तक रोचक र पठनीय छ। सरल मान्छेको ऐच्छिक बाध्यताको जीवन भोगाइ छन्। राजनीति र विगतको जनयुद्धप्रति चासो राख्नेहरुका लागि संग्रहणीय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell